detail-img

सिन्धुपाल्चोकका माओवादीका प्रभावशाली नेता\कार्यकर्तालाई एमालेमा स्वागत 

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता\कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।  
सिन्धुपाल्चोकको चौसागढी नगरपालिकाका पूर्व मेयर  माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य अमानसिंह तामाङ, माओवादीका प्रदेश कमिटी सदस्य तथा भोटेकोशी गाउँपालिका इन्चार्ज आङ छिरिङ शेर्पा दुईसय भन्दा बढी माओवादी कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको छ ।  
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा सिन्धुपाल्चोकवासीहरूको उपस्थिति रहेको थियो । 
पार्टी प्रवेश गर्नेहरूमा भोटेकोशी गाउँपालिकाबाट निवर्तमान गाउँपालिका उपाध्यक्ष दाबुटि शेर्पा लामा, नवनिर्वाचित वडाध्यक्ष निमा सोना शेर्पा, माओवादीका गाउँ पार्टी कमिटीका उपाध्यक्ष फुर्वा शेर्पा फुनु लगायत गाउँ पार्टी कमिटीका सदस्य र वाईसिएल सदस्यहरू रहेका छन् ।
त्यस्तै, चौसागढी नगरपालिकाबाट माओवादीका प्रदेश कमिटी सदस्य तथा निवर्तमान वडाध्यक्ष विष्णु लामा, माओवादीका जिल्ला सचिवालय सदस्य छत्रबहादुर तामाङ, जिल्ला सचिवालय सदस्य सीताराम गिरी, रघुसिं तामाङ, निवर्तमान वडाध्यक्ष तीर्थबहादुर श्रेष्ठ लगायत नगर कमिटी र वडा कमिटीका सदस्यहरू गरी दुईसयभन्दा बढी एमालेमा प्रवेश गर्नुभएको छ ।
सो अवसरमा नवप्रवेशीहरूलाई स्वागत तथा ‘आगामी दिन अत्यन्त सफल रहुन्’ शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले तपाईहरू विजयी हुनेमा ढुक्क रहेको देख्दा मलाई पनि आगामी निर्वाचनमा सिन्धुपाल्चोकका दुई संघीय सांसद र चार प्रदेश सांसदमा एमालेलाई विजयी गराउनु हुने छ भन्ने विश्वास बढेको छ भन्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– राष्ट्रियता सम्वर्द्धन, स्वाधीनताको रक्षा, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन तपाईहरूले योगदान गर्न सक्नुहोस् । 
‘देशमा लोकतान्त्रिक अभ्यास भइरहेको छैन, लोकतान्त्रिक प्रणालीलाई जोगाउन, सुशासन कायम गर्न, भ्रष्टाचार उन्मूलन गर्न, आर्थिक समृद्धि हासिल गर्न, सबै विभेद अन्त्य गरी सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने काममा योगदान गर्न सक्नुहोस् ।’

पार्टी प्रवेश कार्यक्रममा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य तथा चौसागढी नगरपालिकाका पूर्व मेयर अमान सिं तामाङले ३८ बर्षसम्म रहेको पोखरीबाट आज नयाँ पोखरीमा आएको वताउँदै नेकपा (एमाले) परिवारलाई मिठो मह बनाउने माहुरीको घारको संज्ञा दिनुभयो । 
‘अब माओवादीबाट समाजवादी क्रान्ति सम्भव छैन भन्ने हाम्रो टिमले निष्कर्ष निकाल्यो र एमालेबाट सम्भव छ त ? भन्ने कुरामा पनि छलफल हुँदा ‘दिन कस्तो हुन्छ भन्ने कुरा विहानी’ ले सङ्केत गर्छ भनेजस्तै राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन जस्ता विषयमा एमालेको अडानले यस पार्टीबाट समाजवादी यात्रा सम्भव छ भन्ने हाम्रो निष्कर्ष हो,’ तामाङले भन्नुभयो ।   
उहाँले माओवादीको राजनीतिक दस्तावेजमा नेपाली काँग्रेसलाई प्रमुख शत्रु किटान गरेर लेखिएको छ, अनि उसैलाई भोट हालेर सरकारमा पुर्याउनपर्ने ? भनी प्रश्न गर्नुभयो । 
तामाङले पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो– अब हामीलाई परिचालित गर्नुहोस्, सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउनुपर्छ । 
माओवादीका प्रदेश कमिटी सदस्य तथा भोटेकोशी गाउँपालिकाका इन्चार्ज आङ छिरिङ शेर्पाले आफू मूल घरमा फर्केको वताउँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकासको रेखा कोर्नु भएको र त्यसमा सहयोगी हुने गरी सहभागी हुन पाउँदा खुशी लागेको वताउनुभयो । 
आफू हालसम्म रहेको माओवादी केन्द्रमा नीति, विधि, प्रक्रिया केही नरहेको, धनवाद र कृपावाद रहेको स्थानीय निर्वाचनबाट अनुभव गरिएको वताउँदै शेर्पाले सिन्धुपाल्चोक जिल्लालाई एमालेको किल्ला बनाउन आफूलाई समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज शेरबहादुर तामाङका् सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, पोलिटव्यूरो सदस्य अरुण नेपाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।