detail-img

‘पीडितलाई पीडा थपेर शान्ति प्रक्रिया टुङ्ग्याउन पाइँदैन’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पीडितहरूको पीडामाथि पीडा थपेर शान्ति प्रक्रिया टुङ्गाउन नपाइने वताउनुभएको छ । 
‘शान्ति प्रक्रिया टुङ्ग्याउने नाममा पेलपाल गर्न र  पीडितका आँसुमा खेलवाड गर्न पाइने छैन,’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो – ‘खै सत्य निरुपण गरेको ?’
‘मैले पीडितहरूलाई भेटिरहेको छु, उहाँहरू बोल्न सकिरहनुभएको छैन, एकदुई जना हिरो बन्न बहुमतका आधारमा कानुन बनाएर स्वेच्छाचारी ढङ्गले शान्ति प्रक्रिया टुङ्ग्याउन पाइँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो । 
‘शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ, टुङ्ग्याइन्छ,’ अध्यक्ष ओलीले पीडितलाई न्याय दिएर, सेनाका परिवार, शहीदका पीडा, घाइतेकोहरूको उपचार सबै कुराको सम्बोधन गरेर शान्ति प्रक्रिया टुङ्ग्याई देशमा शान्ति स्थापना गरिने वताउनुभयो । 
‘गठबन्धन दलमा रहेका नेताहरूले आफ्ना लागि शान्ति प्रक्रिया टुुङ्गियो भनेर हुन्छ ? जनताका लागि टुङ्गिनुपर्छ । मानवता विरोधी अपराधमा उचित कारवाही हुनुपर्छ, पीडितलाई चित्त बुझाउनुपर्छ, पीडितलाई रुवाउन पाइँदैन ।’ 
हिजोका लडाकू, घाइते र अङ्गभङ्ग भएका कार्यकर्ताहरूको अवस्था के छ ? कुनै मतलब नगर्ने तर जाँड खाएर मर्नेको शालिक बनाउने, नातागोता, आफन्त सबैलाई सातपुस्ता पुग्ने गरी सपार्ने काम भएको चर्चा गर्दै अध्यक्ष ओलीले ‘जनयुद्ध’ मा लड्दा गोली लागेका र अहिले पनि शरीरमा गोली बोकेर बाँचिरहेकाहरूको उपचार एमालेले गर्छ, आउनुस् एमाले केन्द्रीय कार्यालयमा भन्नुभयो । 
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाली भू भाग विगत ६० बर्षदेखि अरूले नै भोगचलन गरिरहँदा पनि कोही नबोलेका र आफूले चुच्चे नक्शा प्रकाशित गरी भूमि फिर्ताका लागि भारतलाई पत्राचार गरेको सन्दर्भको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘नेपालले आफ्नो भू–भाग हाम्रो हो भन्दा भारतलाई किन मन नपर्नुपर्ने ? भारतलाई मन पर्नुपर्छ ।’
गठबन्धन सरकार आफ्नो भूमि फिर्ता ल्याउनेबारेमा बोल्न पनि नसक्ने वताउँदै प्रधानमन्त्री र गठबन्धनका नेताहरूलाई प्रश्न गर्नुभयो– ‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यू तपाईको गृह प्रदेशको नक्शामा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन ? कस्को हो बोल्नुुुस् क्रान्तिकारी प्रचण्डजी, किन बोल्नुभएन भारत भ्रमणको समयमा किन बोल्नुभएन ? माधव बोल्न पर्दैन ? अरूलाई भारतले बोलायो, मलाई बोलाएन भन्ने छटपटी छ अहिले माधवमा ।’
भारतले लगाउने गरेको नाकाबन्दी सदाका लागि अन्त्य गर्ने गरी आफूले उत्तर छिमेकी चीनसँग पारवहन सम्झौता गरेको र उत्तरी नाका खोल्ने काम भएको चर्चा गर्दै अध्यक्षले भन्नुभयो–‘अहिलेका गठबन्धनमा रहेका दलहरू सत्ताको लोभमा थप्पड लगाए पनि हेरेर बस्छन्, विकल्प खोज्दैनन् ।’  
‘काँग्रेस विग्रेको देख्दा अचम्म लाग्छ, लोकतन्त्रमा फरक विचार, मान्यता, फरक अस्तित्व स्वीकार गर्न सक्नुपर्छ तर काँग्रेस नेतृत्वको गठबन्धन तानाशाही भएको छ, अर्को भन्ने सुन्नै चाहँदैन । प्रतिस्पर्धाको राजनीति होइन, दुश्मनीको राजनीतिलाई प्रश्रय दिइरहेको छ । राष्ट्रघाती, जनविरोधी काम गरिरहेको छ । राज्यशक्तिको चरम दुरूपयोग गरिरहेको छ । यिनीहरूलाई स्थानीय निर्वाचनमा छिमेकी दाजुभाइ मारेर जित्नुपर्ने ? लोकतान्त्रिक  हुँ भन्नेलाई शरम हुनुपर्दैन ?’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विचार, व्यवहार, आचरण सबै कुरामा दक्षिणपन्थी भइसकेकाले सबै बामपन्थी नेता÷ कार्यकर्तालाई एमालेमा आउन अध्यक्षले पुनः आह्वान गर्नुभयो । 
उहाँले गठबन्धनमा रहेका बामपन्थी दलहरूका नेतृत्व खराब रहेको वताउँदै तमाम बामपन्थी, देशभक्तहरूलाई एमालेमा आउन आग्रह गर्नुभयो । 
सिन्धुपाल्चोकका माओवादी नेता\कार्यकर्तालाई पार्टीमा स्वागत गर्न आइतवार पार्टी कार्यालय च्यासलमा सिन्धुपाल्चोक जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टीमा रहेका बामपन्थी तथा देशभक्त कार्यकर्तालाई एमालेमा आउन आग्रह गर्नुभएको हो । 
एमालेमा अरू पार्टीमा जस्तो आफ्नो–अर्काको, नजिक– टाढाको अनुभव गर्नुपर्दैन, यहाँ नेताका छोरी–बुहारी माथि उठाउन, श्रीमती, साला, भाइभतिजा, नातागोताका लागि काम गर्ने होइन, एमाले र यसका नेता\कार्यकर्ता, सिङ्गो पार्टीपङ्ती देश बनाउने काममा केन्द्रित छ । 
नेकपा (एमाले) समृद्ध नेपाल बनाउने दृढ सङ्कल्पका साथ अगाडि बढिरहेको वताउँदै त्यो पूरा हुन नदिन गठबन्धनमा रहेका दलहरू विभिन्न षडयन्त्रमा लागिरहेको अध्यक्ष ओलीले वताउनुभयो । 
गठबन्धनमा रहेका दलहरू विकास विरोधी, अलोकतान्त्रिक, तानाशाही र देशद्रोही काममा लागेको चर्चा गर्दै अध्यक्ष ओलीले संसदमा कसलाई कति भनेर सिट बाँडेर बसिरहेका ती दललाई आगामी निर्वाचनमा जनताले पराजित गरेर कति सिट भन्ने देखाइदिनुपर्छ भन्नुभयो ।