detail-img

केन्द्रीय कमिटीको बैठकमा अध्यक्षबाट सम्वोधन

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक पार्टी कार्यालय, च्यासल ललितपुरमा शुरू भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा करिव ११. ३० बजे बैठक शुरु भएको हो । बैठकमा अध्यक्ष ओलीले राजीतिक प्रतिवेदनका विषयहरूमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षा लगायतका विषयमा सम्वोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले वर्तमान गठबन्धन सरकारले देशलाई बर्बादीको दिशामा लगिरहेको वताउनुभयो ।

 
बैठकको शुरूमा महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्नुभएको थियो ।


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको पूर्वसन्ध्यामा हुन गइरहेको यस बैठकले उम्मेदवार छनौट प्रक्रिय र मापदण्ड निर्धारण गर्ने छ । 
बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमी कमजोरी छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत हुने छ । त्यस्तै बैठकले सचिवालय बैठकबाट भएको निर्णयहरूको अनुमोदन गर्ने छ । 
सचिवालयले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । 
बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चारजना केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । 
केन्द्रीय कमिटीको बैठक आज र भोलि बस्ने छ ।