detail-img

‘एक पार्टी सदस्य, दुई नयाँ मत बृद्धि, पाँच मतको रक्षा’  अभियानबाट बहुमत ल्याउने योजना 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले बहुमत प्राप्त गरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने योजनासाथ अगाडि बढेको वताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा राजधानीका आज आयोजित पत्रकारहरूसँगको अन्तरसम्वाद कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनमा प्रतिस्पर्धा गठबन्धन विरूद्ध बलियो राष्ट्रिय शक्ति एमाले बीच हुने बताउनुभयो । 
नेकपा (एमाले) कुनै पनि किसिमको गठबन्धनको पक्षमा नरहेको स्पष्ट गर्दै महासचिव पोखरेलले एमालेको नीति, कार्यक्रम र योजनामा सहमत हुनेहरूसँग स्थानीय तहमा तालमेल भने हुन सक्ने वताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– ‘पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको छ । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलले नपुगेर बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दैछ ।’
‘राजनीतिक परिवर्तनका लागि दलहरूबीच सहकार्य, गठबन्धन स्वाभाविक हुनसक्छ तर जब राष्ट्रको विकास र समृद्धिको प्रश्न आउँछ त्यतिबेला राजनीतिक दलहरूले आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा जनतामा जाने सामथ्र्य राख्नुपर्छ,’ उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने सामथ्र्य गुमाइसकेको र काँग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको महासचिव पोखरेलको भनाई थियो । 
महासचिव पोखरेलले नेपालको राजनीतिलाई सही बाटोमा डोर्याउन लागि भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको बताउनुभएको छ ।
अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुपर्ने विभिन्न कारणहरू वताउँदै महासचिवले भन्नुभयो– ‘अध्यक्ष ओली नाकाबन्दीको डटेर सामना गर्ने, संविधान निर्माणमा बाह्य हस्तक्षेपको दृढतापूर्वक सामना गर्ने, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा, हिंसा पीडितहरूको संरक्षक र देशको विकास र समृद्धिलाई अगाडि बढाउने अत्यन्त सक्षम नेतृत्व हुनुहुन्छ । उहाँले अगाडि बढाएका विकास र समृद्धिका योजना अगाडि बढाउनका लागि आगामी निर्वाचनपछिको एमालेको प्रधानमन्त्रीका रुपमा अगाडि सारिएको हो ।’ 
उहाँले आगामी निर्वाचनमा एकल बहुमतसहित विजय प्राप्त गर्न पार्टीले एक संगठित सदस्य दुई नयाँ भोट बृद्धि र पाँच भोटको सुरक्षा अभियान अगाडि सारेको र यो अभियान सफल हुँदा पार्टीले बहुमत प्राप्त गर्ने स्पष्ट गर्नुभयो । 
महासचिव पोखरेलले आगामी निर्वाचनमा विकास र समृद्धिका विस्तृत कार्ययोजनाका साथ जनतामा जाने तयारी पार्टीले गरिरहेको वताउनुभयो । 
महासचिवले भन्नुभयो, ‘पूर्वाधार निर्माणका क्षेत्रमा एमाले नेतृत्वको सरकारका पालामा ठूलो काम भएको तर विकास, समृद्धि र जनताको हितमा अगाडि बढ्दा एमाले र यसको नेतृत्वमाथि निरन्तर घेराबन्दी र आक्रमण भएको छ ।’ 
नागरिकता विधेयक र अध्यादेशको व्यवस्था एउटै होइन
पत्रकारहरूको जिज्ञासामा महासचिव पोखरेलले भन्नुभयो– ‘नागरिकता विधेयकका सम्बन्धमा एमाले नेतृत्वको सरकारका पालामा ल्याइएको अध्यादेश र अहिले ल्याइएको विधेयक उस्तै हो भनेर पाँचदलीय गठबन्धनले भ्रमपूर्ण प्रचार गरिरहेको छ । त्यस्तो होइन । हामीले ल्याइएको अध्यादेशमा अङ्गिकृत नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था थियो । अहिलेको विधेयकका सबै विषयमा हाम्रो विमति होइन । हाम्रो विमति दुई कुरामा हो । एउटा– वैवाहिक अङ्गिकृत नागरिकता र दोस्रो– विधेयक पारित गर्ने संसदीय प्रक्रिया ।’
‘वैवाहिक अङ्गिकृत नागरिकताका हकमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था नै यहाँ पनि उचित हुन्छ भन्ने नेकपा कालको पार्टीको धारणा अहिले पनि  कायम हो भने विधेयक फाष्ट ट्रयाकमा पारित गर्ने गठबन्धन दलको हुटहुटीप्रति हाम्रो असहमति हो । नागरिकता जस्तो महत्वपूर्ण विषयमा छलफल नै नगरी पारित गर्ने कुरा अदालतको आदेशको पनि विपरीत हो ।’
महासचिव पोखरेलले नागरिकता विधेयकमा राष्ट्रपतिज्यूले उठाउनुभएका प्रश्नमा पुनर्विचार नगर्ने निर्णय पाँच दलको स्वेच्छाचारिता हो भन्नुहुँदै राष्ट्रिय सभामा छलफलका क्रममा रहेकाले त्यहाँबाट नागरिकता विधेयकमा साझा निष्कर्ष निकाल्ने अपेक्षा एमालेकोे रहेको वताउनुभयो । 
पार्टीका उपमहासचिव प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वी सुब्बा गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा विभागका उप्रमुख पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्नुका विभिन्न कारण र आधारबारे स्पष्ट गर्दै केन्द्रीय कमिटी बैठकले सर्वसम्मत निर्णय गरी  भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको वताउनुभयो । उहाँले विदेश गएर गठबन्धनको सम्झौता गरेर आउनेहरूसँग अध्यक्ष ओलीलाई टक्कर दिने पात्र छ जस्तो मलाई लाग्दैन भन्नुभयो ।