detail-img

‘गठबन्धन जन्मको रहस्य खुलिरहेको छ’ 

अत्तरिया (कैलाली) । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले  पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको रहस्य के रहेछ खुल्दै गएको वताउनुभएको छ । 
सुदूरपश्चिमका वैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षण लगायतका विभिन्न कार्यक्रम सकेर राजधानी फर्कने क्रममा आज अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । 
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा वयान दिँदा जे कुरा बाहिर आएका छन् त्यसले परमादेशको रहस्य खुल्दै गएको वताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– ‘नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चेनक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनताको हितका कदमको प्रतिशोध लिनका लागि पाँचदलीय गठबन्धन जन्माइएको हो ।’ 
‘फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई वाह्य स्वार्थ रहेको तर त्यो चाहना एमालेको सरकारले पूरा हुन नदिएको, विकास र समृद्धिको यात्राका क्रममा ठूला परियोजनाहरु अगाडि सारेको मन नपराएकाहरुले एमालेलाई सरकारबाट हटाउनका लागि पाँचदलीय गठबन्धनको जन्म भएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’ 
उहाँले राणाको वयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले वयान रोक्ने प्रयास गरेको वताउनुभयो । महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौ रोकेर नयाँ नजिर बनाएको महासचिव पोखरेलको भनाई थियो ।  
महासचिव पोखरेलले देशको अर्थतन्त्रको एकबर्ष अघि र अहिलेको अवस्थाकाबारेमा चर्चा गर्दै गठबन्धन सरकारको एकबर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा छैन भन्ने देखिन्छ भन्नुभयो । 
महासचिव पोखरेलले आगामी निर्वाचन स्वार्थको गठबन्धनका पक्षमा लाग्ने कि विकास र समृद्धिको एजेण्डाका साथ राष्ट्रिय शक्तिका रुपमा अगाडि बढिरहेको एमालेको पक्षमा लाग्ने भन्ने जनमत सङ्ग्रहका रुपमा रहेको वताउनुभयो । 
पत्रकारहरुको जिज्ञासामा महासचिव पोखरेलले नागरिकता विधेयकमा गठबन्धन सरकारमा रहेका दलहरुको गलत चरित्र उजागर भएको वताउनउनुभयो । 
सुदूरपश्चिमका विभिन्न जिल्लाका कार्यक्रममा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको, जहाँ गयो, त्यहीँ पार्टी प्रवेश भइरहेको र केही दिनमा कैलालीमा पनि महत्वपूर्ण पार्टी प्रवेश सुन्न पाइने जानकारी गराउँदै महासचिव पोखरेलले पार्टी एकताको प्रयास असफल भइसकेकाले त्यही प्रयास नदोहोर्याइने, बामपन्थी, देशभक्त र विकासप्रेमीहरूको राजनीतिक ध्रूवीकरण हुने र गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
माओवादी कार्यकर्तालाई एमालेमा स्वागत 
यसैबीच, माओवादी केन्द्रबाट बेदकोट नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा उपमेयरको दावेदार सीता डगौंरा उक्त पार्टी परित्याग गरि नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँलाई महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना लगायतले पार्टीमा स्वागत गर्नुभयो ।