detail-img

‘अस्तित्व जोगाउन गठबन्धन’

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग एक्लै लड्ने आँट कसैको नभएकै कारण गठबन्धन बनेको बताउनुभएको छ ।
उपाध्यक्ष पौडेलले प्रेस चौतारी नेपालले बुटवलमा शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रुपमै स्वीकार गरेर अस्तित्व जोगाउने वैशाखीको रुपमा गठबन्धन बनेको बताउनुभयो ।  
एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट कसैसँग नभएको बताउँदै उहाँले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको बताउनुभयो । 
नेता पौडेलले गठबन्धनको वैशाखी पनि सङ्कटतर्फ धकेलिएका सङ्केतहरू आएको बताउनुभयो । ‘हामीसँग चुनावी प्रतिस्पर्धा गर्न कसैको पनि आँट छैन’, पौडेलले भन्नुभयोे, ‘गठबन्धनमा सिट बाँडफाँटमै समस्यामा छ ।’
उहाँले एमाले निर्वाचनमा सात दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने र निर्वाचनपछि एमालेले सरकार बनाउनेछ भन्नुभयो । 
उहाँले एमालेको सरकारले गरेका काम जनतालाई बुझाउनुपर्ने नेताकार्यकर्ताको अबको जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृसंगठनहरूलाई आग्रह समेत गर्नुभयो । 
बुटवलमा निर्माणाधीन तिनाउ–दानव करिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न उहाँको आग्रह थियोे । 
करिडोरमा पर्ने घरपरिवारलाई उनीहरूको इच्छाअनुसार चित्तबुझ्दो स्थानमा स्थानान्तर गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गर्नुभयो । 
एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उहाँको भनाइ थियो । 
एसपीपीमा एमालेको विरोधकै कारण सरकार सम्झौता गर्नबाट पछि हट्न बाध्य भएको उपाध्यक्ष पौडेलले बताउनुभयो ।