detail-img

नेकपा एसका केन्द्रीय सदस्य खनाल र गुल्मी जिल्ला अध्यक्षसहितका नेताकार्यकर्तालाई एमालेमा स्वागत 

तम्घास (गुल्मी) । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज गणेश खनाल, जिल्ला अध्यक्ष नरेश भण्डारी जिल्लाका नेताकार्यकर्ताहरूसहित नेकपा (एमाले) मा समाहित हुनुभएको छ । 
नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीद्वारा तम्घासमा आज आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो । 
पार्टीमा फर्कनेहरूमा युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला कमिटी सचिवालय सदस्य मदनदीप घिमिरे, जिल्ला कमिटी सदस्य हरि कुँवर, जिल्ला कमिटी सदस्य बिष्णुप्रसाद भण्डारी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामुजङ्ग कँडेल, जिल्ला कमिटी सदस्य यमबहादुर खत्री र अनेरास्ववियूका जिल्ला उपाध्यक्ष नीलकण्ठ पाण्डे लगायत  हुनुहुन्छ । 

विद्रोहबाट काँग्रेसलाई फाइदा
कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कमरेडहरूको निर्णयले देशभरका वामपन्थीहरूलाई एकताबद्ध बन्न प्रेरणा थपेको छ भन्नुभयो । 
उहाँले पार्टीबाट केही साथीहरूले गर्नुभएको विद्रोहले एमालेलाई बेफाइदा भन्दा काँग्रेसलाई फाइदा पुग्न थालेपछि आन्दोलनको रुपान्तरणका लागि एकीकृत समाजवादीको जिल्ला नेतृत्व एमालेमा समाहित हुनु निकै सुखद बिषय भएको बताउनुभयो । 
अन्तरद्वन्द्वमा बाह्यशक्तिबाट मलजल
नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले पार्टीमा समाहित हुनुभएका कमरेडहरूलाई स्वागत गर्दै जीवन्त पार्टीभित्र देखिने अन्तरबिरोध स्वाभाविक भएकाले गुल्मीबाट शुरु भएको अभियान निकै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले एमालेभित्रको अन्तरद्वन्द्वलाई बाह्यशक्तिले समेत मलजल गरेकाले केही कमरेडहरूले नयाँ पार्टी स्थापना गरेको बताउनुभयो । 
बामपन्थी एकताको सन्देश
सो अवसरमा एमालेमा समाहित हुनुभएका एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनालले आगामी मंसिर ४ को संघीय तथा प्रादेशिक निर्वाचन देशको लागि दूरगामी महत्वको राजनीतिक परिघटना भएकाले बामपन्थी एकताको सन्देशसहित अभियान सुरु गरिएको बताउनुभयो । 
सहयोद्धालाई पराजित गर्नु बाहेक उपलब्धि भएन 
त्यसैगरी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नरेश भण्डारीले गुल्मीबाट बामपन्थी एकताको सन्देश दिएको बताउनुभयो ।  
एमालेभित्रका केही मुद्दामा हिजो असहमति जनाएर अलग भएको एकीकृत समाजवादी पार्टीले एमसिसि, नागरिकता विधेयक, बामपन्थी एकता र उपलब्धिलाई बेवास्ता गर्न थालेपछि नेकपा (एमाले) मा समाहित भएको वताउनुभयो । भण्डारीले भन्नुभयो– ‘मैले एमालेबाट बिद्रोह गरेर स्थानीय तहको चुनावमा आफ्नै सहयोद्धालाई पराजित गर्नु बाहेक केही उपलब्धि भएन । नेतृत्वको बेइमानीले बिद्रोहको उद्देश्य पूरा भएन, टुटेको अभियान र मन जोडेर एमालेलाई बलियो बनाउने प्रद्धिवद्धता जनाउँछु ।’