detail-img

‘आगामी निर्वाचनले देशको भविष्य फैसला गर्ने’

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले देशको भाग्य र भविष्यको फैसला गर्ने भएकाले यो निर्वाचन निकै महत्वपूर्ण रहेको वताउनुभएको छ । 
नेपाल बुद्धिजीवी परिषद्  प्रदेश–१ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको अधोगति रोक्न नसके मुलुक बर्बादीतिर जाने चिन्ता व्यक्त गर्नुभयो । उहाँले देशको अवस्था भयावह रहेको बताउनुभयो ।


सत्ता गठबन्धनका नेताहरू जसरी पनि गठबन्धन जोगाउने र जे गरे पनि हुन्छ भन्ने ढङ्गले हिँडेको वताउँदै अध्यक्ष ओलीले भन्नु्भयो– ‘ गठबन्धन सरकारका कारण देशमा महंगी बढेको छ, विश्वविद्यालयका गुरुलाई बाटो छेकेर कुटपीट गरी घाइते बनाउने काम भएको छ । गृहमन्त्रीको संरक्षणमा त्रिविमा तालाबन्दी लगायत गतिविधि भएका छन् । अर्थमन्त्रीको संरक्षणमा अर्थतन्त्र ध्वस्त भइरहेको छ । कानुनमन्त्रीको संरक्षणमा कानुनीराज ध्वस्त बनाइदिने काम भइरहेको छ । यी तमाम क्रियाकलाप रोक्नका लागि मंसिर ४ को निर्वाचनले सही फैसला लिनुपर्ने छ ।’
उहाँले मंसिर ४ को निर्वाचनबाट शान्ति सुुव्यवस्था र स्थिरता कायम गर्ने एमालेको सरकार गठन हुने स्थिति बन्नुपर्छ भन्नुभयो । अध्यक्ष ओलीले हिजो विरोध गर्नेहरू आज देश बचाउनु पर्यो भन्दै आफूकहाँ आउन थालेको वताउनुभयो ।

 अध्यक्ष ओली आजै विराटनगरमा  जितिया पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । 

द्वन्द्व निम्त्याउने उद्देश्यले नागरिकता विधेयक 
नेकपा (एमाले) का अध्यक्ष ओलीले गठबन्धन सरकारले नागरिकता विधेयक द्वन्द्व निम्त्याउनका लागि ल्याएको वताउनुभएको छ । 
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले अहिले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने हो, त्यो मात्र व्यवस्था गरेर संसदमा ल्याउँदा तीनदिनमा पास गर्न सकिने स्पष्ट गर्नुभयो । 
गठबन्धन सरकारले जनतामा भ्रम फिजाउने र गलत ढङ्गले भोटको राजनीति गर्न खोजेको वताउनुभयो ।
नागरिकता विधेयक राष्ट्रपतिले स्वीकृत नगरे राजीनामा दिनुपर्छ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति अध्यक्ष ओलीले भन्नभयो–‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा । राष्ट्रपतिले विचारार्थ पठाएको प्रस्तावलाई सुन्दा पनि सुन्दैनौं, हेर्दा पनि हेर्दैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’ 
उहाँले सरकारलाई अहिलेको विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् भन्ने दुईलाईन संशोधन ल्याउन सुझाव दिनुभयो । 
त्यतिमात्र संशोधन ल्याए तीन दिनमा पास हुन्छ भन्दै अध्यक्ष ओलीले गठबन्धनले नागरिकता दिन नभई तनाब बढाउन मात्र चाहेको वताउनुभयो । 
उहाँले गठबन्धन सरकारले निर्वाचनको मुखमा कर्मचारी सरुवादेखि हजारौं कर्मचारी नियुक्ति गर्न खोजेर देशमा छाडातन्त्र, लुटतन्त्र मच्चाउन खोजेको वताउनुभयो ।