detail-img

आफ्नो नीतिप्रति भरोसा नभएपछि गठबन्धन

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धनमा रहेका दलहरू आफ्नो नीतिप्रति भरोसा नभएका कारण आगामी निर्वाचनमा गठबन्धन बनाई प्रतिस्पर्धामा जान लागेको वताउनुभएको छ । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीद्वारा शनिवार आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो– ‘लोकतन्त्रमा निर्वाचन अघि गठबन्धन गर्नु उचित होइन, यो लोकतन्त्र विरोधी कुरा हो तर गठबन्धनमा रहेका दलहरू आ–आफ्ना नीतिका आधारमा निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेका छन् ।’

नेकपा (एमाले) गठबन्धनमा रहेका दलहरूसँग एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्छ भन्ने कुरा स्थानीय तहको निर्वाचनले प्रमाणित गरिसकेको वताउँदै महासचिव पोखरेलले अबको निर्वाचनमा स्थानीय निर्वाचनमा पाएको मतमा छ प्रतिशत मत बृद्धि गर्दा बहुमत प्राप्त हुने वताउनुभयो । 
उहाँले भन्नुभयो– त्यसका लागि भर्खर सम्पन्न केन्द्रीय कमिटी बैठकले अगाडि सारेको योजना ‘एक पार्टी सदस्य– दुई मत बृद्धि, पाँच मतको सुरक्षा’ सफल बनाउने अभियानमा लाग्नुपर्छ ।’
महासचिव पोखरेलले मिश्रित निर्वाचन प्रणालीमै पनि पार्टीको एकल बहुमत आउनसक्ने र त्यसका लागि राजनीतिक ध्रूबीकरण आवश्यक भएको वताउनुभयो । नेकपा (एमाले) एजेण्डाका आधारमा राजनीतिक  ध्रूबीकरणको पक्षमा रहेको र यसबाट जनताको मन जित्न सक्ने विश्वास महासचिवले व्यक्त गर्नुभयो ।
उहाँले एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा सुदृढ गर्ने अभियानलाई सफल पार्न विभिन्न दलका कार्यकर्तालाई पार्टीमा स्वागत गरी कार्यकर्ताबीच मन जोड्न चाहेको स्पष्ट गर्नुभयो । 
महासचिव पोखरेलले उपत्यका विशेष कमिटी र यस अन्तर्गतका सबै पार्टी सदस्यहरूलाई जनमत निर्माणको काममा लाग्न निर्देशन दिनुभयो ।


जनमत निर्माणका लागि हामीले सरकारमा हुँदा गरेका काम नै हाम्रो तागत हो भन्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो– ‘हाम्रो पार्टी स्वाधीनता, राष्ट्रियता र स्वाभिमानका पक्षमा छ । विकास र समृद्धि हाम्रो सफलताको महत्वपूर्ण आधार हो । सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य निर्माणको शुरुवात हामीले नै गरेका हौं । अब कहाँ पुग्ने भन्ने सही बाटोमा हामी छौं । जनमत निर्माण गर्ने यिनै हुन् हाम्रा आधार ।’
उहाँले पार्टी एकीकरणका नाममा विगतमा तीनबर्ष पार्टीको संगठनात्मक जीवन शुन्यताको अवस्थामा गुज्रिएको स्मरण गर्दै पार्टीलाई पुरानै लयमा फर्काउन संगठनात्मक कामलाई व्यवस्थित गर्न  शुरू गरिए पनि पूर्ण नभईसकेकोे वताउनुभयो ।
महासचिव पोखरेलले स्थानीय निर्वाचनमा पार्टीभित्रको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता प्रकट भएको  चर्चा गर्नुभयो ।

पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टी संगठनका समस्या र समाधान विषयमा प्रशिक्षण दिनुभएको थियो । 
उहाँले प्रशिक्षणमा छलफलका लागि आधारपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले पार्टीलाई पुनर्जीवन दिन, पुनर्जागरण गर्न खोजिएको वताउँदै आधारपत्रले पार्टी कार्यकर्तालाई वैचारिक आलोक दिने विश्वास व्यक्त गर्नुभयो । 
सो अवसरमा स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश कमिटीका इन्चार्ज काशिनाथ अधिकारीले विशेष प्रदेश कमिटी र भूगोलबीचको सम्बन्धका बारेमा धारणा राख्नुभएको थियो । 
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको प्रशिक्षणमा केन्द्रीय सदस्य तथा प्रदेश कमिटीका सहइन्चार्ज बीना श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रदेश कमिटी अध्यक्ष पराजुलीले पार्टीको केन्द्रीय संगठन विभागको योजना अनुसार प्रशिक्षण कार्यक्रम राखिएको जानकारी गराउँदै उपत्यका विशेष प्रदेश कमिटीका बारेमा विस्तृतमा प्रकाश पार्नुभएको थियो ।