detail-img

माओवादी केन्द्रका केन्द्रीय सदस्य परियारलगायत नेताकार्यकर्तालाई पार्टीमा स्वागत 

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहईन्चार्ज यमबहादुर परियार नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँ लगायत माओवादी केन्द्रका विभिन्न कमिटीमा रहेर काम गरिरहनुभएका चितवन, काठमाडौं र ललितपुरका करिव दुईदर्जन कार्यकर्तालाई खादा लगाई स्वागत गर्नुभयो । 
एमाले प्रवेश गर्नेेहरूमा प्रदेश कमिटी सदस्य अन्जनकुमार तिमिल्सिना, पिताम्वर पोखरेल, तुलबहादुर विक, गिरिधारी सुवेदी, लावन्यराज शर्मा, नारायणप्रसाद अधिकारी, गोविन्दप्रसाद अधिकारी, आकाश थापा, सुरेश थापा, बुद्धिबहादुर लामा, रामप्रसाद सापकोटा, हेमबहादुर गुरूङ र कृष्ण अधिकारी हुनुहुन्छ । 
यसैगरी, काठमाडौंमा करिव तीनदशकदेखि बामपन्थी राजनीतिमा क्रियाशील राजेन्द्र प्रधान, किरण तुलाधर, आनन्दप्रसाद जोशी, अशोक श्रेष्ठ, हिराशोभा महर्जन, रविन्द्र महर्जन लगायत पनि एमालेमा प्रवेश गर्नुभएको छ । 
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर जिल्लाका उपाध्यक्ष विक्रान्त सुवेदी र नेपाली काँग्रेस जिल्ला कार्य समिति नुवाकोटका सदस्य रामकुमार प्याकुरेललाई पनि अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो ।  
सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश र जनताका पक्षमा काम गर्ने सही नीति र गन्तव्यका साथ अगाडि बढिरहेको नेकपा (एमाले) हो भन्ने यथार्थ बुझेर पार्टीमा प्रवेश गर्नुभएका साथीहरूलाई हार्दिक स्वागत गर्दछु भन्नुभयो । 
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सबै देशभक्त, बामपन्थीहरू एमालेमा समाहित हुनु जरूरी रहेको वताउँदै नवप्रवेशीहरूलाई कुनै भेदभावविना योग्यता, क्षमता र कार्यदक्षताका आधारमा जिम्मेवारी दिइने वताउनुभयो ।


सो कार्यक्रममा नवप्रवेशी माओवादी केन्द्रका केन्द्रीय सदस्य परियारले नेकपा (एमाले) नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको र यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीले थाल्नुभएको एकीकरण प्रक्रियालाई जनस्तरबाटै पूरा गरिने छ भन्नुभयो । 
त्यसैगरी नवप्रवेशी प्रधानले आफू २०५० सालसम्म नेकपा एमालेमै क्रियाशील रहेको र केही असन्तुष्टिका कारण बाहिर रहे पनि अहिले  एमालेमा पुनरागमन भएको हो भन्नुभयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुरेन्द्र पाण्डे, सचिव टोपबहादुर रायमाझी,  स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।