लहान । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष रामबलभ साह लगायतका नेताकार्यकर्ता सयौं समर्थकसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।नवप्रवेशीहरूलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फूलमाला र अविर लगाई स्वागत गर्नुभयो ।
सिरहाको चोहर्वामा आज नेकपा (एमाले) जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा आमसभामा नेता साह, सिरहा नगरपालिका वडा नम्वर १८ का पूर्व वडा अध्यक्ष गोपाल यादव लगायत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एस परित्याग गरी सयौं जना एमाले प्रवेश गरेको नेकपा (एमाले) सिरहा जिल्ला सचिव तथा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले बताउनुभयो ।
सो आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेशमा विकासको लहर ल्याउने पार्टी एमाले हो भन्नुभयो ।
आफ्नो नेतृत्वको सरकारको पालामा वर्षौदेखि निर्माण ठप्प रहेको हुलाकी सडक निर्माणको कामले तिव्रता पाएको, पूर्व पश्चिम लोकमार्ग चारलेनमा विस्तार गर्ने काम शुरू गरिएको, तराईका जिल्ला सदरमुकामदेखि लोकमार्ग जोड्ने सडक निर्माण गरिएको पूर्वप्रधानमन्त्री ओलीले वताउनुभयो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने वताउँदै एमालेको नेतृत्वमा सरकार गठनपछि विकासका कामले गति लिने उहाँको भनाई थियो । अध्यक्ष ओलीले देश बनाउने एकमात्र पार्टी एमाले भएको वताउनुभयो ।
कार्यक्रममा पार्टीका सचिव एवम् मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायत नेताहरूको उपस्थिति रहेको थियो ।