काठमाडौं । नेकपा (एमाले) ले आठौं संविधान दिवस राष्ट्रिय दिवसका रूपमा आज उपत्यकामा भव्य वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरी मनाएको छ ।
पदयात्राको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । काठमाडौंका नयाँ बानेश्वर, लैनचौर, मैतीदेवी, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट शुरू गरिएको पदयात्रा शहीदगेटबाट एकीकृत भई वसन्तपुर पुगेको थियो । वसन्तपुरमा अध्यक्ष ओलीको संक्षिप्त सम्वोधनपछि कार्यक्रम समापन गरिएको थियो ।
संविधान दिवस सबैको साझा राष्ट्रिय दिवस भएकाले यस दिवसलाई आम नागरिकको सहभागितामा मनाउने उद्देश्य राखिएकाले कार्यक्रमलाई दलीय दायराभन्दा फराकिलो बनाइएको थियो । पदयात्रामा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरू, सामाजिक सेवामा संलग्न व्यक्तिहरू, कलाकार, प्राध्यापक, बुद्धिजीवी, अभियन्ता लगायतको सहभागिता रहेको थियो ।
हजारौंको सहभागिता रहेको पदयात्रामा लिम्पियाधुरा, लिपुलेक सहितको नेपालको नक्शा व्यानर बनाइएको थियो । सहभागीका हात–हातमा नेपालको झण्डा थिए । छातीमा नेपालको चुच्चेनक्शा । त्यसमा लेखिएको थियो–‘संविधानका सातबर्षे यात्रा, युवा सँगसँगै पदयात्रा ।’
आम निर्वाचनको माहौलमा पनि कार्यक्रममा सधैजस्तो पार्टीकोे झण्डा, पार्टीको चुनावचिन्ह पदयात्रामा प्रयोग गरिएन । नारा लगाइएको थिएन ।
पदयात्रामा पार्टीका अध्यक्ष ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘वादल’, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल लगायत सबैजसो पदाधिकारी नेताहरू विभिन्न ठाउँबाट शुरू गरिएका पदयात्राको नेतृत्व गर्दै वसन्तपुर आउनुभएको थियो ।
पदयात्रा समापनमा सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदयात्रामा सहभागी सबैलाई धन्यवाद भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘संविधान जारीपछि संसदीय निर्वाचन सम्पन्न भई पाँचबर्षे कार्यकाल पूरा भएको छ । यस अवधिमा संविधान बमोजिमका कानुन निर्माण, ऐन, नियम बनाई सङ्घीयताको कार्यान्वयनलाई अगाडि बढाइएको छ । यसबीचमा केही कमी कमजोरी तथा नहुनुपर्ने गतिविधि भए होलान् तर संविधान कार्यान्वयनलाई मुलतः सफलतापूर्वक अगाडि बढाएका छौं । व्यक्तिका स्वार्थ, गुटगत स्वार्थलाई पराजित गरेका छौं ।’
‘राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक हरेक क्षेत्रमा हामीले असाधारण प्रगति गरेका छौं । भौतिक पूर्वाधारको विकास, सामाजिक पूर्वाधारको विकास, सामाजिक न्याय र समानताको क्षेत्रमा महत्वपूर्ण काम भएका छन्, समावेशी लोकतन्त्रको अभ्यासलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने सन्दर्भमा हामीले असाधारण काम गरेका छौं । यसका निम्ति यो आठौं संविधान दिवसलाई जनताको राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्छ । यसरी संविधान दिवस जनसहभागितामा मनाउने कुरा विगतमा सफल हुन सकेको थिएन । आज संविधान दिवसको सन्दर्भमा हामीले सङ्घर्ष गरेर, बलिदान दिएर, कठिन र लामो यात्रा पार गरेर जुन संविधान हासिल गरेका छौं, त्यसलाई रक्षा गर्ने, कार्यान्वयन गर्ने सन्दर्भमा जुन सफलता हासिल गरेका छौं, यसका निम्ति म सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई भन्न चाहन्छु ।’
अध्यक्ष ओलीले भन्नुभयो–‘नेपालमा साम्प्रदायिक सद्भाव भड्काउने प्रयासहरू भए । हाम्रो विविधतालाई विद्वेष र कलहको विषय बनाउने कुचेष्टा भए । नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा भए । नेपाललाई लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भए । तर ति सबै कुचेष्टालाई पराजित गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिंडाएका छौं ।’
‘अब हामी देशलाई अफ्ठारो स्थितिबाट, गठबन्धन सरकारले ओरालो दिशामा लागेको स्थितिबाट रोकेर माथि उठाउने, लोकतन्त्रको अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था कायम, भ्रष्टाचार नियन्त्रण, सुशासनको हिसावले र चौतर्फी विकास अगाडि बढाउने हिसावले हामी सशक्त ढङ्गले अगाडि बढ्ने छौं । प्रभावकारी ढङगले अगाडि बढ्ने छौं ।
अध्यक्ष ओलीले अगाडि भन्नुभयो– ‘त्यस कुराको फैसलाका लागि अब मंसिर ४ गते संघीय संसद र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । यतिवेला म संक्षिप्तमा भन्न चाहन्छु, देशलाई हार्न दिनु हुँदैन, जनतालाई हार्न दिनु हुँदैन, लोकतन्त्रलाई हार्न दिनुहुँदैन । संविधानलाई हार्न दिनु हुँदैन, विकासको अभियानलाई हार्न दिनु हुँदैन । एकछिन धक्का खाएको होला । तर यस धक्कालाई चिरेर हामी सम्पूर्ण क्षेत्रलाई द्रूत गतिले अगाडि बढाउनुपर्ने छ । म यतिबेला सम्पूर्ण देशवासी र विदेशमा समेत रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई लोकतन्त्रको पक्षमा, राष्ट्रियताको पक्षमा, राष्ट्रिय अखण्डताको पक्षमा, हाम्रो सम्पूर्ण भू–भाग नेपालको हो, नेपाल हामी नेपालीको हो, नेपाल हामी नेपालीले चलाउने हो, नेपाल नेपाल र नेपालीको हितमा चल्ने हो भन्ने भावनाका साथ हामी अगाडि बढ्ने छौं । म हामी सम्पूर्ण सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई भन्न चाहन्छु, संविधान दिवसलाई राष्ट्रिय दिवस र महानचाड, राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्छ र मनाएका छौं । आज म तपाईहरूको यो असाधारण उत्साह, असाधारण उपस्थिति र तपाईहरूको राष्ट्रियताप्रति, लोकतन्त्रप्रति र तिनलाई प्रतिविम्वित गर्ने संविधानप्रतिको प्रतिबद्धता र लोकतन्त्रलाई सही बाटोबाट अगाडि बढाउने सङ्कल्पका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।’