काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं.५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ताका लागि शनिवार नै झापा पुग्नुुभएका अध्यक्ष ओलीले आइतबार (असोज २३ गते) आफै निर्वाचन कार्यालयमा गई उम्मेदवारी मनोनयन दर्ता गराउनुभयोे । सो अवसरमा ठूलो संख्यामा नेता, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।
अध्यक्ष ओलीलाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । उम्मेदवारीपछि संक्षिप्त सभामा अध्यक्ष ओलीले निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) ले मात्र देश विकास गरी समृद्धि ल्याउँछ भन्ने कुरा जनताले बुझिसकेका र देशभर एमालेप्रतिको आकर्षणले एमालेको पक्षमा चुनावी लहर सिर्जना भइरहेकाले पार्टीले बहुमत स्थानमा विजय प्राप्त गर्ने अध्यक्ष ओलीले वताउनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले २०७९ असोज २३ गतेलाई उम्मेदवारी मनोनयन दर्ता मिति तोकेको थियो ।
नेकपा (एमाले) का देशभरका उम्मेदवारहरूले कार्यकर्ता र समर्थकहरूको भव्य सहभागितामा उत्साहका साथ उम्मेदवारी मनोनयन दर्ता गराउनुभयो ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवारी दर्ता गराउनुभयो । उहाँ यसअघि २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल रूपन्देही निर्वाचन क्षेत्र नं. २, सुवास नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ र सुरेन्द्र पाण्डेले चितवन निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुभएको छ ।
महासचिव शंकर पोखरेलले दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभयो । २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भई पोखरेलले लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
त्यसैगरी उपमहासचिवद्वय प्रदीप ज्ञवालीले गुल्मी निर्वाचन क्षेत्र नं. १ र पृथ्वी सुव्वा गुरूङले लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । उपमहासचिव गुरूङ २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बन्नुभएको थियो ।
यसैगरी पार्टीका सबै सातै जना सचिवहरू प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्नुहुनेभएको छ । सचिव लेखराज भट्ट कैलाली–४, टोपबहादुर रायमाझी अर्घाखाँची, गोकर्ण विष्ट गुल्मी–२, योेगेश भट्टराई ताप्लेजुुङ, छविलाल विश्वकर्मा रुपन्देही–१, पदमा अर्याल स्याङ्जा– २ र रघुवीर महासेठले धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुभएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच निश्चित सिटमा तालमेल गरी एकअर्कालाई सघाउने सहमति भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि केही स्थानमा चुनावी तालमेल भएको छ । सोहीअनुसार एमालेका देशभरका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउनुभएको छ ।