काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरूको उम्मेदवारी दर्तासँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पूर्णरूपमा निर्वाचनमा होमिएको छ ।
पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।
पार्टीका अधिकांश पदाधिकारी निर्वाचनको मैदानमा प्रतिस्पर्धामा हुनुहुन्छ । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं क्षेत्र नं. ५, उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही क्षेत्र नं. २, सुवास नेम्वाङ इलाम क्षेत्र नं.२ र सुरेन्द्र पाण्डे चितवन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार हुनुहुन्छ ।
महासचिव शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नं.२ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने दुई उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नं. १ र पृथ्वी सुब्बा गुरूङ लमजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुन्छ । पार्टीका सातैजना सचिवहरू प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ ।
जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरी एकअर्कालाई सघाउने सहमति भएबमोजिम पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको छ ।
पार्टीले डडेल्धुरामा नेपाली काँग्रेस वीपी र चितवनमा नेपाली काँग्रेसका वागी उम्मेदवारलाई समर्थन गरेको छ । त्यस्तै नवलपरासीमा हृदयेश त्रिपाठीको उम्मेदवारीलाई एमालेले समर्थन गरेको छ । यस अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का सूर्यध्वजावाहक उम्मेदवारहरू १४१ जना कायम रहेका छन् ।
पार्टीका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका प्रत्यक्ष र समानुपातिकतर्फका सूर्यध्वजावाहक उम्मेदवारको नामावली यस प्रकार छ ।