काठमाडौं । नेकपा (एमाले) ले पार्टीका पोलिटव्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको आकस्मिक निधनप्रति दुःख व्यक्त गर्दै शोकमा रहेको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
महासचिव शंकर पोखरेलले आज ढुङ्गेलको परिवारलाई भेट्नु भई नेता ढुङ्गेलको निधनबाट पार्टी अत्यन्तै स्तब्ध भएको जनाउँदै पार्टीका तर्फबाट समवेदन व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले माओवादी आन्दोलन, पार्टी एकताको अवस्था र एमालेको पोलिटव्यूरो सदस्यका रूपमा रहँदा नेता ढुङ्गेलले सक्रिय रूपमा भूमिका निर्वाह गर्नुभएको र माओवादीलाई विचलनबाट सही बाटोमा ल्याउन सकारात्मक भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको वताउनुभयो ।
उहाँले नेता ढुङ्गेलप्रति पार्टीका तर्फबाट उच्च सम्मान प्रकट गर्दै परिवारका सदस्यहरूलाई पार्टी सधै तपाईंहरूका साथमा हुने छ भन्नुभयो । शोकलाई शक्तिमा बदल्न र नयाँ पुस्ताले उहाँको योगदानबाट प्रेरणा लिनुपर्ने महासचिवले वताउनुभयो । नेता ढुङ्गेलका श्रीमति र दुई छोरी हुनुहुन्छ ।ओखलढुङ्गाका स्थायी निवासी ५२ बर्षीय ढुङ्गेल काठमाडौंको काँडाघारीमा बस्दै आउनुभएको थियो । ढुङ्गेल लामो समयदेखि मिर्गौला लगायत रोगबाट पीडित हुनुहुन्थ्यो ।