काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलङ्कीदेखि चाबहिलको धोबीखोलासम्म छ लेन सडक निर्माणले तिब्रता पाउने बताउनुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको उहाँले बताउनुभयो ।
सुरूमा कलङ्कीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उहाँले जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरू हुने विश्वास व्यक्त गर्नुभयो । धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले गठबन्धनका नेताको घर परेका कारण कलङ्की–धोबीखोला छ लेन सडक निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए ।