detail-img

‘सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा एमालेको प्राथमिकता’ 

 रुपन्देही । नेकपा (एमाले) का सचिव तथा रुपन्देही निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउँंदै लालपुर्जा वितरण एमालेको प्राथमिकतामा रहेको बताउनुभएको छ । 
आइतबार तिलोत्तमा– १२ मा निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै एमाले नेता विश्वकर्माले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले  सबै प्रक्रिया पूरा गरेर जग्गा नापजांँच गर्ने बेला सरकार ढलेको र पांँच दलीय गठबन्धनले भूमि आयोग नै खारेज गरेर भूमिहीनलाई लालपुर्जाबाट बञ्चित गरेको स्पष्ट गर्नुभयो । 
नेता विश्वकर्माले गठबन्धन सरकारले दुईसय गुणा बढी राजस्व कायम गरेर अव्यवस्थित बसोबासीलाई लालपुर्जा लिनै नसक्ने बनाएको बताउंँदै जनतालाई जग्गाको मालिक बनाउन एमालेको सरकार चाहिने बताउनुभयो ।
वर्तमान सरकारको बेवास्ताका कारण अलपत्र परेको रोहिणी जलाशययुक्त आयोजनालाई पूरा गरेर पर्यटन विकास र रोजगारी सिर्जना गर्न एमाले, राप्रपा र जसपाको जित आवश्यक भएको नेता विश्वकर्माको भनाई थियो । 
रुपन्देही १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले सडक, सिंचाई लगायतका अधुरा योजना पूरा गर्न मतदाताको आग्रहमा आफू  उम्मेदवार बनेको बताउनुभयो ।  नेता न्यौपानेले रुपन्देही– १ को प्रतिनिधि सभा र दुईंवटै प्रदेश सभा क्षेत्रमा एमाले र चुनावी तालमेल गरेका दलहरुको १० हजार भन्दा धेरै मतले अगाडि रहेकाले जित सुनिश्चित भएकाले उत्साहित भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य शिव सुवेदीले मुलुकलाई सही नेतृत्व गर्न एमाले वाहेक अरु कसैले नसक्ने भएकाले अन्य दलबाट एमाले प्रवेश गर्ने लहर चलेको र एमालेले अप्रत्यासित नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । 
यसैबीच रुपन्देही १(२) मा आइतबारै पेशागत तथा बुद्धिजीवीहरुको भेला सम्पन्न भएको छ । भेलामा सहभागी बुद्धिजीवी र पेशाकर्मीहरुले राष्ट्रियताको रक्षा, मुलुकको विकास र समृद्धिका लागि एमाले, जसपा र राप्रपाको जित अपरिहार्य भएकाले जनमत सिर्जनामा लाग्ने निर्णय गरेका छन् । भेलामा १(१) का प्रदेश सभा सदस्य उम्मेदवार आशिषकुमार चौधरीले पनि आफ्ना भनाई राख्नुभएको थियो ।