detail-img

‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी केन्द्रित गरिने छ’

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित  गरिने बताउनुभएको छ ।  
नेकपा (एमाले) निर्वाचन परिचालक कमिटी बुटवल–१३ को कार्यकर्ता भेलालाई आइतबार सम्वोधन गर्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमता अनुसारको गुणस्तरीय शिक्षा आर्जनका लागि शिक्षामा लगानी गर्न जोड दिइएको बताउनुभयो । 
नेकपा (एमाले) ले  निर्वाचनपछि सरकार बनाउने अवसर पाउँदा शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथामिकतामा राखेर काम गर्ने बताउँदै उपाध्यक्ष पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै जनता उपचारको लागि महङ्गा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने योजना सुनाउनुभयो ।  उहाँले बेरोजगारहरुलाई अल्पकालीन र दीर्घकालीन तालीम सञ्चालन गरी रोजगारीका अवसरहरु जुटाउने बताउनुभयो । 
कार्यक्रममा रुपन्देही–२ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवल विकासमा कहीँ कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।