detail-img

राष्ट्र निर्माणका लागि एमालेको सरकार अपरिहार्यः अध्यक्ष ओली 

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका लागि काम गर्ने एक मात्रै पार्टी एमाले भएको बताउनुभएको छ । 
झापाको गौरादह नगरपालिकामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकाङ्क्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न एमालेको सरकार अपरिहार्य रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘देश विकासको योजना र दृष्टिकोण भएको एमाले बाहेक अरू कुनै पार्टी छैन । एमालेसँग मात्र यो देशलाई कसरी समृद्ध बनाउने भन्ने योजना छ ।’
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न अवरोध सिर्जना भए पनि देशमा धेरै विकास गरेको बताउनुभयो ।

उहाँले हिजोका काम हेरेर अबको निर्वाचनमा मतदाताले सही जनप्रतिनिधि छान्ने बताउनुभयो । यस पटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले दक्षिणी झापाको समस्या समाधानको नेतृत्व एमालेले गर्ने बताउनुभयो ।  गौरीगञ्ज, जुरोपानीका नागरिकको जीवनस्तर सुधार गर्न काम अघि बढाएको उहाँको भनाई थियो । 
अध्यक्ष ओलीले रतुवा र लेरा पुलको समस्याका बारेमा आफू अवगत रहेको बताउँदै भन्नुभयो– ‘लेरा खोलाको समस्या मैले पटक पटक सदनमा उठाएको थिएँ, अहिले पनि त्यो काम सकिएको छैन, अब ती कामको जिम्मा एमालेले लिने छ ।’
‘ठेकेदारको लापरवाहीका कारणले रतुवाको पुल निर्माणमा ढिलाइ भएको, ठेकेदारले बदमासी गरे, कहिले डिजाइन के भयो भनेर अल्मल्याइएको छ, अब माटो पुर्ने कामको ठेक्का लागेको छ, काम सम्पन्न हुने छ,’ अध्यक्ष ओलीले भन्नुभयो– ‘गौरीगञ्जलाई स्मार्ट सिटी बनाउने योजना अनुसारको काम भइरहेको छ ।  हुलाकी मार्ग मेरै सपना हो, त्यो छिटै पूरा  हुने छ ।’
उहाँले जन्मसिद्ध नागरिकता लिएका नेपालीका सन्तानले बंशजका आधारमा नागरिकता पाउनुपर्ने बताउनुभयो । 
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पर्वतलाल राजवंशीसहित ११७ जना नेकपा (एमाले) मा प्रवेश गरेका थिए । अध्यक्ष ओलीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।