detail-img

मतदान गर्नु अघि गम्भीरतापूर्वक विचार गर्नुपर्ने छ प्रश्न

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर ४ गतेको निर्वाचन गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बीचमा हुन गइरहेको र सार्वभौम जनताले खसाल्ने प्रत्येक मतले मुलुकको भविष्यको फैसला गर्ने जनाएको छ ।  
पार्टीको निर्वाचन घोषणापत्रमार्फत अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको  अपिलमा राष्ट्रिय राजनीति दुई ध्रूवमा बाँडिएको र राष्ट्रले कुन ध्रूव रोज्ने यस निर्वाचनले स्पष्ट फैसला गर्नुपर्ने उल्लेख गरिएको छ ।  
अपिलमा भनिएको छ–‘सार्वभौम मतदाताको एक मतले देशको भाग्य कोर्ने भएकाले आफ्नो अमूल्य मत खसाल्नुअघि यी छ प्रश्नहरूमा गम्भीरतापूर्वक विचार गर्न हामी विनम्र आग्रह गर्दछौँ ।’

राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानको रक्षा कि बाह्य सम्बन्धमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात ?

राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँटका नाममा अन्त्यहीन अस्थिरता र किचलो ?

मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कि सीमित व्यक्तिहरूको स्वार्थपूर्तिका लागि राज्यसंयन्त्रको दुरूपयोग ?

राष्ट्रिय पुँजी निर्माण, आत्मनिर्भरता र मुलुकको समृद्धि कि अर्थतन्त्रको दोहन, परनिर्भरता र बर्बादी ?

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्ति कि सीमित नेताहरूको सत्तास्वार्थको परिपूर्ति ?

स्वार्थमा आधारित गठबन्धन कि नीतिगत नेतृत्वमा आधारित बलियो राष्ट्रिय शक्तिको निर्माण ?

आगामी निर्वाचनमा ‘राष्ट्रिय हितको रक्षा र सम्वर्द्धनः स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर नेकपा (एमाले) सार्वभौम मतदातासमक्ष प्रस्तुत भएको छ ।