detail-img

आर्थिक रुपान्तरणका लागि लाग्ने प्रतिबद्धता

ललितपुर । नेकपा (एमाले) का ललितपुर निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारहरुले एमालेले बहुमत ल्याउँदा मात्रै नागरिकको समृद्धिको चाहना पूरा हुने बताउनु भएको छ । 
प्रेस चौतारी ललितपुरले मङ्गलबार आयोजना गरेको ‘उम्मेदवारसँग साक्षात्कार’ कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार प्रेम महर्जन, प्रदेश सभा सदस्यका उम्मेदवारहरु ज्ञानेन्द्र शाक्य र रामेश्वर श्रेष्ठले ललितपुरलगायत देशको आमूल परिवर्तनका लागि सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो । 
प्रतिनिधि सभा सदस्यका उम्मेदवार महर्जनले एमाले कम्युनिष्ट आन्दोलनको मुलधारका रुपमा मात्र नभई देशको राष्ट्रिय शक्तिका रुपमा विकास भइरहेको र आज धेरैजसो कम्युनिष्ट कार्यकर्ता र देशभक्तहरु एमालेमा प्रवेश गरिरहेको वताउनुभयो । 
मुलुकलाई समाजवादमा लैजाने र समृद्धि हासिल गराउने जिम्मेवारी एमालेले लिने उहाँले बताउनुभयो । पार्टीले लिएको नीति र भोलिका दिनमा बनाउने कानुन पनि जनमैत्री हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा एमालेले अगुवाई गर्नसक्छ ।” 
आफू समाज परिवर्तनका लागि राजनीतिमा लागिरहेको भन्दै महर्जनले प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि पनि सामाजिक र आर्थिक रुपान्तरणका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
सङ्घीय संसदमा विजयी भएपछि सधै जनताको सेवामा रहने उहाँले बताउनुभयो । निर्वाचनपछि इमान्दारी कायम राख्दै जनताको  दुःखसुखमा सहभागी हुने उहाँको प्रतिबद्धता रहेको छ । यस क्षेत्रमा रहेका सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा लाग्ने उहाँले बताउनुभयो ।  
प्रदेश २ (१) का उम्मेदवार रामेश्वर श्रेष्ठले आफू महालक्ष्मी नगरपालिकाको प्रमुख हुँदा प्राप्त गरेको ज्ञान र अनुभवलाई प्रदेशसभामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
ललितपुर २ (२) का उम्मेदवार ज्ञानेन्द्र शाक्यले आफूले यस अघि प्रदेशसभा सांसद हुँदा धेरै विकास निर्माणका काम अघि बढाएको र त्यसलाई पूरा गर्दै नयाँ योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।