detail-img

नेकपा एसका नेताकार्यकर्तालाई पार्टीमा स्वागत 

धनगढी । नेकपा एकीकृत समाजवादीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा आज बिहान आयोजना गरिएको कार्यक्रममा  एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
एमाले प्रवेश गर्नेमा एकीकृत समाजवादीको जनवर्गीय संगठन युवा संघ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटी सचिव पवित्रा बोहरा लगायत हुनुहुन्छ । यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य खुस्बु राना, नेपाली काँग्रेसका क्रियाशील सदस्य तथा गोदावरी नगर कमिटी सदस्य बाली साउद लगायतका कार्यकर्ता पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

 
यस्तै गुल्मीमा नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली, प्रकाश खत्री नारायण पन्थी लगायत एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई नेकपा (एमाले) का सचिव तथा गुल्मी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले पार्टीमा स्वागत गर्नुभयो ।