detail-img

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको  जमिन फिर्ता राष्ट्रिय अभिभाराःअध्यक्ष ओली

दार्चुला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको कालापानी क्षेत्रको नेपाली भू–भाग फिर्ता ल्याउने काम राष्ट्रिय अभिभाराका रुपमा रहेको वताउनुभएको छ । 
दार्चुलामा आज आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले आफ्नो भू–भाग एकइन्च पनि नछोड्ने र मिचिन नदिने स्पष्ट गर्नुभयो । 
आगामी निर्वाचनबाट एमालेको सरकार गठन हुने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको  भारतद्वारा मिचिएको जमिन फिर्ता ल्याउने दृढता व्यक्त गर्नुभयो ।

 
उहाँले विगत ६० बर्षदेखि कालापानी क्षेत्रको नेपाली भू–भागमा बस्दै आएको भारतीय सेना फिर्ता जानुपर्ने वताउनुभयो । अध्यक्ष ओलीले महाकाली नदी भारतसँगको सिमाना रहेको र नदी सर्दै जाँदा सीमा पनि सर्दै जाँदैन भन्दै दार्चुलामा महाकाली पहिले बग्ने गरेको ठाउँमा भारतले बाँध बाध्न नहुने स्पष्ट गर्नुभयो । 
नदी सर्यो कि सीमा सर्यो होइन, यस्ता कामलाई नेपाली जनताले थिचोमिचोका रुपमा बुझ्ने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो–‘ठूलो भारतले सानो चित्त गर्ने होइन । 
उहाँले दार्चुलाको सदरमुकाम खलङ्गा बजारलाई महाकालीको बाढीबाट सुरक्षित राख्न तटबन्ध बनाउने ग्यारेण्टी गर्नुभयो ।  
उहाँले भन्नुभयो–‘देशको रक्षा, विकास र जनताका समस्याको समाधान पाँच छ दल मिलेर बनेको सरकारले गर्न सक्दैन । यिनीहरुले मिचिएको नेपाली भूभाग फिर्ता ल्याउन पनि सक्दैनन् । त्यो काम राष्ट्रिय शक्तिका रुपमा अगाडि बढिरहेको एमालेले मात्र गर्न सक्छ ।’ 
अध्यक्ष ओलीले तुइन चुडाईं नेपाली युवा महाकालीमा बेपत्ता हुँदा होस् वा भर्खरै बाटो बनाउने क्रममा नेपाली बालिकाको मृत्यु हुँदा, भारतीय पक्षबाट नेपालीमाथि हुने गरेका ज्यादतीका बारेमा एमालेले आवाज उठाएपछि मात्र वर्तमान गठबन्धन सरकार बोल्न बाध्य हुने गरेको वताउनुभयो । 
उहाँले दार्चुलासम्मको सडक विस्तारको काम एमालेको सरकारले अगाडि बढाएको लगायतका विकासका कामको चर्चा गर्दै यहाँका जनताका समस्या एमालेले बुझेको र ती समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले टालाटुली बटुली पुतली बनाएजस्तो पाँच सातवटा दल मिलेर बनाउने सरकारले देशको विकास र जनताका समस्या समाधान नगर्ने भएकाले राष्ट्रिय शक्तिका रुपमा अगाडि बढिरहेको एमालेलाई एकल बहुमत दिई सरकार गठन गर्ने गरी विजयी बनाउन आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले दार्चुलाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका नेताहरुले पटक पटक मन्त्री हुँदा समेत दार्चुलाको विकास र यहाँका जनताका समस्या समाधान गर्ने कुरामा कुनै ध्यान नदिएको वताउँदै प्रतिनिधि सभा र प्रदेशसभामा तीनैजना एमाले उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन दार्चुलावासीलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा एमाले सचिव लेखराज भट्ट लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।