detail-img

विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले तिलोत्तमामा मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने बताउनुभएको छ ।  
तिलोत्तमा नगरपालिका वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापना कार्य अघि बढेको बताउँदै छिट्टै पूर्वाधार निर्माणको काम सुरु हुने जानकारी गराउनुभयो । 
पूर्वाधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उहाँले त्यसपछि तिलोत्तमा– १ का बासिन्दाको मुहार बदलिने विश्वास व्यक्त गर्नुभयो । मेडिकल कलेज निर्माणसँगै सडक, पूर्वाधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर पनि सिर्जना हुने उहाँको भनाइ छ । त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उहाँले वताउनुभयो ।  
उपाध्यक्ष पौडेल अर्थमन्त्री भएका बेला तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको अवधारणा अघि बढेको थियो । तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा. सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनलाई कार्यान्वयन गराउन पौडेलले लविङ गर्नुभएको थियो । 
त्यसपछि तिलोत्तमा मेडिकल कलेज स्थापना कार्य सुरु भएको थियो । अहिले सरकारी मेडिकल कलेजको डिपिआर तयार भइसकेको बताउँदै नेता पौडेलले मेडिकल कलेज स्थापनापछि तिलोत्तमाले नै स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाका वडानम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको दुई सय विगाह जग्गामा मेडिकल कलेज बन्नेछ । गुरुयोजना अनुसार १ हजार शय्याको अस्पताल बन्नेछ । 
२०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमामा बुटवल मेडिकल कलेजको कार्यालय उद्घाटन गर्नुभएको थियो ।  
रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीसहित घरदैलो अभियानमा पुगेका पौडेललाई मतदाताले नाली निर्माण, डुवान रोक्न र सडक पूर्वाधार निर्माण गर्न आग्रह गरेका थिए । 
सो क्रममा पौडेलले तिलोत्तमा १ मा नयाँ खेल मैदान सिद्धार्थ खेलमैदान आवश्यक रहेको जानकारी आफूलाई आएको भन्दै नयाँ खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले डुवानको समस्या समधान छिटो हुने बताउँदै सडक निर्माणको कार्य टेण्डर प्रक्रिया भइसकेको र अब निर्माण छिट्टै हुने जानकारी गराउनुभयो ।
सोही घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं .१ (१) का उम्मेदवार लिला गिरीले शान्ति र विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो । उहाँले तिलोत्तमालाई पर्यटकीय हवको रुपमा विकास गर्ने एमालेको योजना रहेको बताउनुभयो ।