detail-img

‘सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिन्छ’

महेन्द्रनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताउनुभएको छ । 
कञ्चनपुरको महेन्द्रनगर र वैतडीमा आज आयोजित चुनावीसभामा उहाँले देशको विकास, शान्ति, सुशासन र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताउनुभयो ।
विगतमा नेपाली काँग्रेसले २०१५ साल, २०४८ साल र २०५६ सालमा गरी तीनपटक बहुमत प्राप्त गरे पनि पाँचबर्ष सरकार चलाउन नसकेको वताउँदै एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उहाँले स्पष्ट गर्नुभयो । 
‘२०७४ सालको निर्वाचनमा बहुमत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर अहिले हल्ला चलाइँदैछ, त्यस्तो होइन’ उहाँले भन्नुभयो–‘२०७४ मा एमालेलाई प्रत्यक्षतर्फ ८०, समानुपातिकतर्फ ४१ सिट गरी १२१ सिट आयो । प्रचण्डजस्ता पीँध नभएकालाई ल्याएर बहुमत पुर्याई सरकार गठन र पार्टी एकतासम्म गरियो तर सुग्रिवहरुले घरै भत्काएर गए । त्यसकारण यसपाली एमालेले एक्लै बहुमत ल्याउनुपरेको छ ।’ 
अध्यक्ष ओलीले अन्य मुलुकहरुको विकास राजनीतिक स्थायित्व र सुदृढ सरकारका कारण भएको तर नेपालमा भने च्याँखे थाप्नेहरुले बाजी मार्ने गरेको वताउनुभयो । 
कुनै नीति, कार्यक्रम र गन्तव्य नभएका छतिर फर्केका गठबन्धनमा रहेका दलहरुले ‘काले काले मिलेर खाउँ भाले’ जस्तै देशलाई कसैले खुट्टा, कसैले हात, कसैले पीठ्युतिरबाट गिद्धले जस्तै लुछिरहेको वताउँदै अध्यक्ष ओलीले सत्ताका लागि प्रचण्डले ‘महान जनयुद्ध’सँग सौदावाजी गरेको वताउनुभयो ।

 

 

उहाँले भन्नुभयो– ‘माओवादी भन्ने वित्तिकै प्रचण्ड र जनयुद्धका शहीद, तिनका परिवार, घाइते योद्धालाई एकैचोटी सम्झन्छु । बाँदरमुढे घटना  सम्झन्छु । छोरी, बुहारी, भाइ, ज्वाई, नातागोताका लागि मरिमेट्ने भए ‘महान जनयुद्ध’ के का लागि ? जनयुद्ध स्वार्थका लागि सौदावाजीमा परिणत गरियो । ’
अध्यक्ष ओलीले नेपाली काँग्रेसमा पनि नेताहरुका श्रीमती समानुपातिकमा राखिएको, प्रधानमन्त्री, गृहमन्त्रीपत्नीहरु समानुपातिकमा परेका तर पार्टीमा योगदान गरेका कार्यकर्ता निराश अवस्थामा रहेका चर्चा गर्नुभयो । 
अध्यक्ष ओलीले काँग्रेस र कम्युनिष्ट कार्यकर्ताहरुलाई एमालेमा आई देश बनाउने अभियानमा योगदान गर्न आग्रह पनि गर्नुभयो । 
दिउँसो वैतडीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिमको विकासको ग्यारेण्टी एमालेले लिन्छ भन्नुभयो । 
आफू यसपाली मात्र नभई २०५० साल बैशाखमा वैतडीमा रहेको वताउँदै दार्चुला र बैतडीका समस्याका बारेमा आफू जानकार रहेको वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो–‘यहाँको झुलाघाटमा पक्की पुल बनाउने जिम्मा म लिन्छु । महाकाली करिडोर सुविधाका साथ दार्चुला पुग्ने गरी तयार हुन्छ । यहाँका खनिज पदार्थको सदुपयोग गरिने छ । मेरो नेतृत्वको सरकारका पालामा खानी विकासको काम प्रक्रिया अगाडि बढाइँदै थियो । पार्टीभित्रका मधुकैटवहरु एफ्रिएपछि सरकारबाट बाहिरियौं र काम अधुरो रह्यो । ती काम पनि अगाडि बढाइने छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटाको मेडिकल कलेज सञ्चालन नगरी डडेलधुराको गन्यापधुरामा मेडिकल कलेज खोल्ने कुरा गर्नुभएको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले भन्नुभयो–‘मेडिकल कलेज गेटामै सञ्चालनमा ल्याइने छ । त्यहाँ पूर्वाधार निर्माण समेत भइसकेको छ । डडेलधुरामा राम्रो अस्पताल बनाइने छ ।’
उहाँले सुदूरपश्चिमका क्याम्पसहरुलाई सरकारले सञ्चालन खर्च व्यहोर्ने गरी सामुदायिक क्याम्पसमा परिणत गर्ने काम आफू प्रधानमन्त्री रहेको समयमा गरेको स्मरण गराउनुभयो । 
अध्यक्ष ओलीले मदन भण्डारी राजमार्ग, मध्यपहाडि लोकमार्ग, गण्डकी करिडोर, कोशी करिडोरको काम अगाडि बढाउनुका साथै हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने र पूर्वपश्चिम राजमार्गको विस्तार र स्तरोन्नतिको काम भइरहेको वताउनुभयो ।
उहाँले देशका विभिन्न भागबाट रातको समयमा पनि हवाई सेवा सञ्चालन गर्ने अवस्था पनि एमाले सरकारकै पालामा भएको स्मरण गर्नुभयो । 
सडक बालबालिका र अभिभावविहीन सडक मानव व्यवस्थापन, प्रसूूति व्यथाका कारण ज्यान जोखिममा परेका महिलाको हेलिकोप्टरबाट उद्धार  गरी सुरक्षित प्रसूति सेवा दिने काम एमालेले गरेको उहाँको भनाई थियो । 
अहिले कङ्गाल बुद्धिका मानिसहरुले शासन गरिरहेकाले सडकमा भिखमङ्गा देखिन थालेको वताउँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो–‘राज्यले केही मान्छेको व्यवस्थापन पनि गर्न सक्दैन ?’  
अध्यक्ष ओलीले आफू २०५१ सालमा गृहमन्त्री हुँदा प्रहरीको स्तरोन्नति हुने व्यवस्था गरेको र नेपाली सेनालाई बङ्करबाट व्यारेकमा ल्याउने काम पनि त्यतिवेलै गरेको स्मरण गर्दै एमालेको सरकार सबैका लागि आवश्यक भएको वताउनुभयो । 
अध्यक्ष ओलीले गर्भमा रहेको शिशुदेखि बृद्धावस्थासम्म मानिसलाई राज्यबाट प्राप्त हुनुुपर्ने शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका कुराको एमालेले ग्यारेण्टी गर्ने नीति एमालेले ल्याएको जानकारी गराउनुभयो ।
अध्यक्ष ओलीले ती ग्यारेण्टी कार्यान्वयनका लागि अहिलेको जस्तो कठपुतली सरकार होइन, एउटा मजबुत राष्ट्रिय शक्तिका रुपमा निर्वाचनबाट एमालेलाई स्थापित गरी एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन आम मतदातासँग आग्रह गर्नुभयो ।