detail-img

 वर्तमान गठबन्धन सरकार स्वाभिमान नभएको कठपुलतीः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट दृष्टिकोण, योजना र प्रतिवद्धता भएको एकमात्र पार्टी एमाले भएको बताउनुभएको छ ।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो–‘नेपाललाई अहिले नीति, कार्यक्रम, योजना र प्रतिवद्धतासहितको बलियो राष्ट्रिय शक्ति चाहिएको छ र त्यो आवश्यकता एमालेले मात्र पूरा गर्न सक्छ ।’
 वर्तमान गठबन्धन सरकार स्वाभिमान नभएको कठपुलती भएको वताउँदै आगामी मंसिर ४ गतेको निर्वाचनबाट यिनीहरु महाभारतमा कौरव जसरी समाप्त हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले मुलुक अत्यन्तै निर्णायक मोडमा रहेकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनैपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘सामान्यतया अहिलेको निर्वाचनबाट एउटा पार्टीलाई बहुमत आउने सम्भावना कमै हुने भए पनि अहिले असामान्य परिस्थिति भएकाले असामान्यरुपमै एमालेले शानदार बहुमत ल्याउँछ ।’  
राष्ट्रियताको संरक्षण, स्वाधीनताको रक्षा, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना बुझेर विकास निर्माणको काम अघि बढाउने पार्टी एमाले भएको चर्चा गर्दै उहाँले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई  बहुमत ल्याउने गरी मत दिन आग्रह गर्नुभयो ।

 
अध्यक्ष ओलीले नेपालीले सहजतापूर्वक जीवनयापन गर्नका लागि मुलुकमा शान्ति, गरिवी निवारण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको आवश्कता भएको र विगतमा एमालेको सरकारले नेपाली जनताका मुर्झाएका सपना र ओइलाएको विश्वासलाई पुनःजागरण गर्नुका साथै देशभक्तिको भावना जागृत गर्न काम गरेको वताउनुभयो । 
उहाँले एमालेले सार्वभौम राष्ट्रका रुपमा विदेश सम्बन्ध कायम गर्ने तथा सन्तुलित छिमेक सम्बन्धको नीति लिएको वताउनुभयो । उहाँले भन्नुभयो–‘हामी दुई छिमेकी मुलुकसँग विश्वसनीय र भरपर्दो छिमेकीका रुपमा सन्तुलित सम्बन्ध कायम राख्न चाहन्छौं । 
अध्यक्ष ओलीले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित अवस्थामा ल्याउने ऐतिहासिक र दूरगामी काम आपूmले गरेको स्मरण गर्दै त्यो काम गरेवापत आफू सरकारबाट बाहिरिनुपरेको वताउनुभयो । 
उहाँले मैले उत्तरी नाका खोल्ने र चीनसँग यातायात तथा पारबहन सन्धि गरेर नेपाललाई अब कहिल्यै नाकाबन्दीको सामना गर्न नपर्ने अवस्थामा पुर्याउँदा मन नपराउनेहरु, देश डुब्न लाग्यो भनी माझीदाइ गुहार्नेहरु नै सार्वभौम, स्वाधीन नेपाल र राष्ट्रियताका विरोधी हुन् भन्नुभयो । 
विश्वका कुनै पनि मुलुक जहाँ नेपाली छन् त्यहाँ एमाले रहेको र उनीहरुले कोभिडको महामारीको बेला होस् वा भूकम्पको समयमा, देशलाई पीडा परेको बेलामा सहयोग गर्दै आएको स्मरण गर्दै भन्नुभयो– ‘विपदको समयमा,महामारीको पीडामा मलम लगाउने हातहरुलाई म धन्यबाद दिन चाहन्छु, आगामी दिनमा पनि यहाँको यस्तै सहयोग भइरहोस् ।’
पूर्वप्रधानमन्त्री ओलीले प्रवासी नेपालीको योगदान उत्कृष्ट रहेको र नेपाल, नेपाली जनता, लोकतन्त्र, शान्ति, समृद्धिका क्षेत्रमा पनि सहयोग गर्न र आफ्नो हितको वास्ता नगरी राष्ट्रिय हितलाई मुख्य केन्द्रमा राखेर काम गरेकोप्रति उच्च प्रशंसा  गर्नुभयो ।  
कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार, आचरण र क्रियाकलाप उच्च नैतिक चरित्रको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विश्वमा जुनसुकै ठाउँमा बसेपछि जन्मभूमि र देशबन्धुलाई नबिर्सन आग्रह गर्नुभयो ।
विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको काठमाडौंमा आज शुरु भएको दुईदिने पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ कार्यसमिति अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्यीय हुनेछ ।‘सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूलनाराका साथ आयोजना गरिएको अधिवेशनमा ३७ देशबाट ३०० प्रतिनिधिको उपस्थिति रहेको छ ।  
प्रवासी नेपाली मञ्चको इन्चार्जको रुपमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रवासी नेपालीको देशको आर्थिक तथा सामाजिक विकासमा ठूलो भूमिका रहेको र उहाँहरुको सहयोग र सहकार्यलाई पार्टीले उच्च मूल्याङ्कन गरेको बताउनुभयो ।
उद्घाटन सत्रमा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।