detail-img

उपाध्यक्ष पौडेलद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

रूपन्देही । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नंं. २ का  नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विष्णु पौडेलले  प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । 
बुटवलमा आज नेकपा (एमाले) निर्वाचन क्षेत्र नं.२ द्वारा प्रकाशित प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष  पौडेलले  प्रतिवद्धता कार्यान्वयन गर्ने अठोट गर्नुभयो ।  
नेता पौडेलले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रुपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिवद्धता पुनः व्यक्त गर्नुभएको छ । प्रतिवद्धतापत्रमा लेखिएको छ– ‘सिँचाइ, जलविद्युत, पर्यटन, खानेपानीका लागि महत्वपूर्र्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण कार्य अघि बढाइने छ ।’
प्रतिवद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने जनाइएको छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ठाउँहरुका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
यस्तै बृहत लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिवद्धता पत्रमा ‘यस आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण गरिने छ । यस विमानस्थलबाट संसारका विभिन्न मुलुकहरूमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने छ ।’
यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका पौडेलले प्रतिवद्धतापत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने जनाउनुभएको छ । यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशीघ्र सम्पन्न गरिने जनाइएको छ । सो प्रतिबद्धतापत्रमा भनिएको छ– ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङ मार्ग निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवलस्थित तिनाउ नदीमा आकर्षक एवं आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने छ ।’
यस्तै निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने उल्लेख गरिएको छ ।
यसैगरी पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ । जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाइएको छ ।
प्रतिबद्धतापत्रमा भनिएको छ– ‘बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने छ ।’नेकपा (एमाले) बाट निर्वाचन क्षेत्र नं.२ मा प्रदेश सभा सदस्यका लागि २(१) मा लीला गिरी र २(२) मा भोजप्रसाद श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।