detail-img

एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी र जुम्लाका सबै जनसंगठन एमालेमा समाहित 

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी नेकपा (एमाले) मा समाहित भएको छ । साथै जुम्ला जिल्लाका सम्पूर्ण जनसंगठन र पेशागत संगठनहरू पनि एमालेमा समाहित भएका छन् । 
आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा देशी विदेशी पश्चगामी शक्तिहरुले अप्राकृतिक गठबन्धन र घेराबन्दी गरी नेपालको बामपन्थी आन्दोलनलाई कमजोर बनाउने भूमिका खेलिरहेकाले त्यसको सशक्त प्रतिवाद गर्दै नेकपा (एमाले) लाई बलियो बनाउने साझा प्रतिबद्धताका साथ एमालेमा समाहित भएको जनाइएको छ ।  
नेकपा (एमाले) जुम्ला जिल्ला कमिटीका अध्यक्ष शान्तिलाल महत र नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटीका अध्यक्ष आदीप्रसाद न्यौपानेले आज संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी विभाजनले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको हुँदा एकीकृत भई अगाडि बढ्ने  निर्णयमा पुगेको जनाउनुभएको छ । 
दुई अध्यक्षले सातबुँदे विज्ञप्ति जारी गर्दै समृद्ध नेपाल सुखी नेपालीको साझा लक्ष्यमा पुग्न आगामी निर्वाचनमा नेकपा (एमाले) लाई विजयी बनाई सरकार गठन गर्ने वातावरण बनाउन सहमत भई समाहित भएको जनाइएको छ । 
एमालेमा समाहित हुनुभएका नेकपा एसका पार्टी संगठन, जनवर्गीय संगठनका नेताकार्यकर्ताहरूलाई आपसी समझदारीका आधारमा सम्मानजनक जिम्मेवारी दिने गरी एकीकरण गरिएको विज्ञप्तिमा जनाइएको छ । 
संयुक्त विज्ञप्तिमा देशभरका देशभक्त,राष्ट्रवादी, प्रगतिशील, बामपन्थी कार्यकर्ता र नेकपा एसका कार्यकर्तालाई नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले) मा समाहित हुन पनि आह्वान गरिएको छ ।