detail-img

देश बनाउने जिम्मा एमालेकोः अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकासको जिम्मा एमालेको  भएको बताउनुभएको छ । 
अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हुनु भन्दा अघि देशमा विभिन्न सरकार रहेका भए पनि एमालेको नेतृत्वमा सरकार भएको समयमा मात्र विकास निर्माणले गति लिएको वताउनुभयो ।  
बुधबार झापाको दमकमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा विकासको मार्गरेखा एमालेले कोरेको र बाँकी विकास निर्माणको कार्यभार पनि एमालेले नै पूरा गर्ने बताउनुभयो । 
नेपालमा औद्योगीकरण, गरिवी निवारण, पर्यटन क्षेत्रको विकास जस्ता कुराहरुमा एमालेको अगुवाई रहँदै आएको भन्दै अध्यक्ष ओलीले देशमा कहाँ कुन विकासको खाँचो छ त्यसलाई एमालेले पूरा गर्ने बताउनुभयो । 
एमालेका कुनै पनि जनप्रतिनिधिले जनविरोधी कार्य गरे वा भ्रष्टाचार गरे त्यसको जिम्मेवारी एमालेले लिने भन्दै उहाँले एमालेका उम्मेदवार विरुद्धका कुनै पनि हल्ला र भ्रमका पछाडि नलागी ढुक्क भएर नेपाली जनता र देशको पक्षमा रहेको एमाले र यसका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले माओवादीले ठूला क्रान्तिका सपना बाँडेर ‘जनयुद्ध’ मा होम्दा १७ हजार नेपाली नागरिकले ज्यान गुमाएका, कयौं बेपत्ता, अपाङ्गता र घाइते अवस्थामा  रहेको उल्लेख गर्दै माओवादी नेतृत्वसँग नेपाली जनताले त्यसको उद्देश्य, उपलब्धि र कारण खोजिरहेको बताउनुभएको छ ।
माओवादी नेतृत्व यिनको पीडा मर्म भावनामा चोट पुग्ने गरी आफ्ना नातागोता पोस्ने कमाउ धन्दामा लागेको बताउनुभयो ।

आसन्न निर्वाचनमा अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा प्रदेश सभा सदस्यका  लागि ५(१) मा पार्टीका स्थायी कमिटी सदस्य हिक्मत कार्की हुनुहुन्छ भने ५(२) मा प्रदेश कमिटीका सचिवालय सदस्य होम बहादुर थापा हुनुहुन्छ । 
कार्यक्रममा कार्की र थापाका साथै पार्टीका पोलिटव्यूरो सदस्य तथा झापा निर्वाचन क्षेत्र नं. ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द दाहाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 
अध्यक्ष ओलीले मङ्गलबार साँझ दमकमा सहकारीकर्मीहरुसँग अन्तर्क्रिया गर्नुभएको थियो ।