detail-img

 ‘जनताको तीब्र परिवर्तनको अपेक्षा एमालेले मात्र पूरा गर्नसक्छ’

सैनामैना । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेको जीत सुनिश्चित भएको बताउनुभएको छ । 
नेकपा (एमाले) ले क्षेत्र नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेबाट बासुदेव घिमिरे तथा प्रदेशसभा सदस्यमा भूमिश्वर ढकाल एवं रामचन्द्र यादव उम्मेदवार हुनुहुन्छ । 
गैडहवामा चुनावी प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता भट्टराईले क्षेत्र नं. ५ का बासिन्दाले तीव्र परिवर्तनको अपेक्षा राखेको र त्यो अपेक्षा एमालेका उम्मेदवारले मात्र पूरा गर्न सक्ने भएकाले पार्टीको जीत सुनिश्चित रहेको बताउनुभयो । उहाँले अब झुट र आश्वासनको राजनीति नटिक्ने भएकाले क्षेत्र नं. ५ का मतदाताले एमालेका विकासप्रेमी उम्मेदवारलाई विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो । 
राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका नेता भट्टराईले एमालेसँग शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, सामाजिक सशक्तीकरणको स्पष्ट योजना रहेको बताउँदै समृद्धि र विकास गर्ने, राष्ट्रियताका बारेमा सोंच्ने पार्टी एमाले मात्र भएको वताउनुभयो । नेपाली काँग्रेसबाट जितेका सांसदले १५ वर्षसम्म क्षेत्र नं. ५ को यथोचित विकास गर्न नसकेको बताउँदै नेता भट्टराईले मंसिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने छ भन्नुभयो ।  
यस्तै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासीहरुको समस्या समाधान गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, कृषि क्षेत्रको आधुनिकीकरणको विषयलाई एमालेले महत्व दिने बताउनुभयो ।