detail-img

देशको विकास गर्ने र नगर्ने पार्टी छु्ट्याएर मतदान गर्न आग्रह

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार गठन भएपछि मुलुकमा विकासका काम ठप्प भएको वताउँदै विकासका काम गर्ने दल र उम्मेदवारलाई विजयी बनाई काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्नुभएको छ । 
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारका क्रममा दाङको घोराही उपमहानगरपालिका–१३ मा आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले उक्त आग्रह गर्नुभएको छ । 
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका ४१ महिनामा विकासका कामले लिइरहेको गति र वर्तमान गठबन्धन सरकारका १६ महिनाको जनताले तुलना गरी कसले विकास गर्छ भन्ने कुरा बुझेर आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मतदान गर्नुपर्ने वताउनुभयो । 
उहाँले भन्नुभयो– ‘विकासका काम विना आग्रह, पूर्वाग्रह अगाडि बढाउनुपर्छ तर अध्यक्ष ओली नेतृत्वको सरकारले अगाडि बढाएका कयौं विकास योजनाको बजेट वर्तमान गठबन्धन सरकारले कटौती गरेको छ र ती काम अहिले अलपत्र अवस्थामा छन् ।’
महासचिव पोखरेलले देश र जिल्लाको विकास निर्माणका कामलाई पुनः गतिका साथ अगाडि बढाउन केन्द्र र प्रदेशमा एमालेको सरकार बन्नुपर्ने वताउनुभयो ।
गठबन्धन सरकार बनेयता मुलुकको अर्थतन्त्र ओरालो लागिरहेको, महंगी ९ प्रतिशतको हाराहारीमा उक्लिरहेको र विकासका काम ठप्प भएको वताउँदै उहाँले भन्नुभयो– ‘परिवारको मुली खराब भए परिवारै विग्रन्छ । देशको मुली विग्रँदा देशै विग्रन्छ । अहिले हाम्रो अवस्था त्यस्तै भएको छ, अयोग्यहरूले देशको शासन सत्ता चलाउँदा देश र जनताले दुःख पाइरहेका छन् ।’
महासचिव पोखरेलले केन्द्रबाट नेपाली काँग्रेस र प्रदेशबाट माओवादीले विकास बजेट कटौती गरिरहेकाले उनीहरुले विकास गर्छौं भनेर भाषण गर्नुको कुनै अर्थ नभएको वताउनुभयो । 
२०७४ सालको निर्वाचनमा दङाली जनताले विजयी बनाएर पठाएपछि आफूले त्यसबेला प्रतिबद्धता जनाएका अधिकांश काम सम्पन्न भएको वताउँदै महासचिव पोखरेलले भन्नुभयो–‘दाङलाई वरिपरिका छिमेकी जिल्लाहरूसँग सडक सञ्जालले जोड्ने, जिल्लाभित्र सडकको विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने काम भएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीका धेरै कामहरू गरिएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि साढे पाँच सय विगाहा जग्गा छुट्याई हस्तान्तरण पनि भएको छ । अब हामी निर्वाचित भएर गएपछि त्यो काम पनि हुने छ र दङालीहरूलाई रोजगारीको अवसर समेत सिर्जना हुने छ ।’
महासचिव पोखरेलले प्रदेश राजधानीको प्रसङ्ग जोड्दै भन्नुभयो– नेपाली काँगेस र माओवादी सरकारमा रहेको समयमा अन्यत्रै तोकिएको प्रदेश राजधानी दाङमा फिर्ता ल्याउने काम भएको छ । त्यो काम मुख्यरूपमा कसले गर्यो भन्ने यहाँहरूलाई थाहै छ । हामीले राजधानी दाङमा हुने निर्णय गर्यौं, राजधानी सार्ने काममा ढिलाई भइरहेको छ, त्यो काम पनि हामीले नै गर्ने हो ।’ उहाँले दाङमा शहरीकरणको योजना रहेको पनि वताउनुभयो ।