detail-img

‘प्रम देउवाका कारण असोज १८ र माघ १९ को प्रतिगमन’ 

दैलेख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भए पनि एउटा पनि राम्रो काम नगरेको वताउनुभएको छ । 
अध्यक्ष ओलीले दैलेखमा आज आयोजित चुनावी सभामा गठबन्धनमा रहेका दलका नेताहरूलाई एउटामात्र राम्रो काम गरेको भए बताउन चुनौती दिनुभयो । 
नेकपा (एमाले) ले गरेका कम्तीमा १०० वटा उपलब्धि भन्नसक्ने वताउँदै अध्यक्ष ओलीले देउवा गृहमन्त्रीहुँदा  एमालेका ३० हजार कार्यकर्तालाई सार्वजनिक मुद्दा लगाएको, देशमा आतङ्क मच्चाएको स्मरण गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘सङ्घर्ष, आन्दोलन गरेर पञ्चायत ढालिसकेपछि, बहुदलीय व्यवस्था आएपछि पनि काँग्रेसको सरकार हुँदा म कम्तीमा ५० पल्ट गिरफ्तार भएको छु ।’
उहाँले २०५९ साल असोज १८ र माघ १९ को प्रतिगमन देउवा प्रधानमन्त्री हुँदा भएको र आन्दोलन गरेर लोकतन्त्र फिर्ता ल्याइएको स्मरण गर्दै देउवाले पाँचपटक प्रधानमन्त्रीहुँदा गरेको काम त्यही हो भन्नुभयो । 
अध्यक्ष ओलीले प्रधानमन्त्री नियुक्तिका लागि सेटिङमा अदालतबाट परमादेश जारी गराउनेहरूले नै संविधान मिचाउने काम गरेको वताउनुभयो ।   

   
‘२०५२ सालमा मनमोहन अधिकारीले  विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएपछि नेता राजेश्वर देवकोटाले गोरू व्याउँदैन भन्थे, सर्वोच्च अदालतमा व्यायो भन्नुभएको’ स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो– यसपटक सर्वोच्चले परमादेश जारी गरी पाँचवटा पाठा जन्माइदियो । गठबन्धन नामको एउटा चिज जन्मायो, जसले देशको अर्थतन्त्र बर्बाद पार्यो, समाज विश्रृंखलित बनायो, छिमेक सम्बन्ध विगार्यो, देश अझ बर्बाद हुँदै छ ।’
उहाँले एमाले  सरकारमा रहेको समयमा गरिएका विकास निर्माण लगायतका कामको चर्चा गर्दै जुन ठाउँमा उभिएर हेरे पनि एमालेले गरेका काम देखिन्छ भन्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘तपाई आफ्नै घरभित्र देख्न पाउनुहुन्छ, एमालेले बालबालिका, ज्येष्ठ नागरिक र युवाका लागि के गर्यो । किसान, मजदूर, कर्मचारी, सेना, प्रहरी, स्वास्थ्यकर्मी सबैले आफैले स्मरण गर्दा हुन्छ, एमाले सरकारका पालामा ति क्षेत्रमा के काम भए ।’
देशको विकास गर्न, स्वाभिमान माथि उठाउन, हरेक नेपालीलाई सुखी बनाउन देशमा एमालेको सरकार चाहिएको वताउँदै अध्यक्ष ओलीले एमालेका उम्मेदवारहरुका पक्षमा सूर्यचिन्हमा मतदान गरी अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गर्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य, प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजाल, दैलेख निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल, प्रदेश सभा सदस्य उम्मेदवार निर्वाचन क्षेत्र नं.२(२) का विनोद शाह र २(१) का तिलक रिजाल लगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला नेता पृथ्वीबहादुर शाही लगायत १५० भन्दा बढी काँग्रेसका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।