detail-img

ललितपुर–१ः पाँचबर्षमा गरेका काम नै जित्ने आधार

ललितपुर । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदातका लागि केही दिन मात्रै बाँकी हुँदा ललितपुरको क्षेत्र नम्वर १ एमालेमय बनेको छ । 
एमालेका निर्वाचन केन्द्रित कार्यक्रममा भव्य जनसहभागिता भइरहेको छ भने ललितपुरका सबै क्षेत्रमा दैनिक पार्टी प्रवेशको लहर चलेकोे छ । 
पार्टी अध्यक्ष केपी शर्मा ओली मंगलबार एकाएक यस क्षेत्रमा पर्ने गोदावरीको छम्पीमा जनताको घरदैलोमा एमाले उम्मेदवारहरूलाई मत माग्न पुग्नुभएपछि ललितपुर क्षेत्र नं. १ मा एमालेको पक्षमा चुनावी उभार आएको छ ।  
एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज सिलवाल, प्रदेशसभा सदस्य उम्मेदवार १(१) मा मधुसुधन पौडेल र १(२) मा चेतनाथ सञ्जेल हुनुहुन्छ । सिलवाल र सञ्जेल गत निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । उहाँहरुले संसद्मा विगत पाँच वर्षमा यहाँका जनप्रतिनिधि भएर सशक्तरुपमा उठाउनुभएको आवाज, नीति निर्माणमा देखाउनुभएको सक्रियता र विकास निर्माणका काम यहाँका नागरिकले नजिकबाट नियालेका छन् । नागरिकमाझ इमान्दार नेताका रुपमा स्थापित पौडेल यस क्षेत्रका मतदातामा लोकप्रिय हुनुहुन्छ । 
भूगोलका हिसाबले दुर्गम र क्षेत्रफलका हिसाबले जिल्लामा सबैभन्दा ठूलो क्षेत्रका रुपमा क्षेत्र नम्वर १ रहेको छ । उम्मेदवारहरुले आ–आफ्नो घोषणापत्रमा र नागरिकको घर–घरमा पुगेर आफू विजयी हुँदा पूर्वाधार निर्माणमा ध्यान दिने र सामाजिक सुधार गर्ने र सांस्कृतिक संरक्षण गर्ने बताएका छन् । 
प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिलवालले विद्यार्थीको रुपमा आफूले पाँच वर्ष संसदरुपी विश्वविद्यालयमा पढेको र अहिले निर्वाचनमार्फत जाँच दिन लागेको बताउनुभयो । हिजो विद्यार्थी भएर संसद छिरेको र अब प्रोफेसर भएर जाने उहाँले बताउनुभयो । यो पाँच वर्षमा आफूले संसदमा जनताका सरोकारका विषय, जनजीविकाका विषय, क्षेत्रीय सम्बन्ध, राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारका विषय उठाउनुका साथै ललितपुरका जनताका आवाज बोलेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मैले विगत पाँच वर्षमा गरेको काम नै मैले जित्ने आधार हो ।’ 
प्रदेशसभामा १(१) का उम्मेदवार मधुसुधन पौडेलले आफू उम्मेदवार भएको क्षेत्रमा नगर र ग्रमीण क्षेत्र दुबै रहेको र त्यहाँका आवश्यकता फरक फरक रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो । आफू विजयी भएर महाङ्काल र कोञ्जेसोम क्षेत्रमा सडक, पानी, विद्यालय व्यवस्थित गर्न लाग्ने र नगर क्षेत्रमा बस्ती व्यवस्थित र आधुनिक बनाउन लाग्ने उहाँको प्रतिबद्धता छ । 
प्रदेशसभामा ललितपुर १(२) का उम्मेदवार चेतनाथ सञ्जेलले आफ्नो पहलमा गत पाँच वर्षमा धेरै विकासका पूर्वाधार बन्न शुरु भएको बताउनुभयो । त्यसलाई सम्पन्न गर्नेसँगै यस क्षेत्रमा नयाँ–नयाँ योजना ल्याउन लाग्ने उहाँको प्रतिबद्धता छ ।