detail-img

‘माओवादीले मुलुकलाई पहिले सशस्त्र द्वन्द्वबाट कमजोर बनायो, अहिले अर्थतन्त्र ध्वस्त पारेर’

लोककल्याणकारी राज्य निर्माणको योजना

दाङ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले एमालेले सामाजिक न्यायमा आधारित लोककल्याणकारी राज्य निर्माणको योजना अघि सारेको बताउनुभएको छ । 
रुकुम–दाङ सम्पर्क समूहले मङ्गलबार घोराहीमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा चुनावी अभियान कार्यक्रममा  महासचिव पोख्रेलले लोककल्याणकारी राज्य निर्माणका लागि २० ग्यारेन्टीसहितका कार्यक्रम अघि सारिएको बताउनुभयोे । २०५१ मै मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले एक सय रुपियाँबाट सुरु गरेको वृद्धभत्ता अहिले चारहजार पुर्याएका छौं, एकल महिला, अपाङ्गता भएका हुँदै सुत्केरी भत्तासम्म उपलव्ध गरायौं महासचिव पोख्रेलले भन्नुभयो– ‘अव एमालेको सरकार बन्छ र हरेक महिलालाई महिनावारी भत्ता कार्यक्रम ल्याउँदैछौं । महिनावारी समस्याका कारण हुने पाठेघरको समस्या रोक्न हरेक वर्ष एकमुष्ठ एक हजार पाँच सय रुपियाँ खातामै राखिदिने छौं । 
विजुली, पानी निःशुल्क 
महासचिव पोख्रेलले गरिव परिवारका लागि विजुली र खानेपानी पनि निःशुल्क गरिदिने बताउनुभयो । पाँच वर्षमा गर्ने २० ग्यारेन्टीबारे उल्लेख गर्दै पोख्रेलले भन्नुभयो– ‘गरिव परिवारको घरमा पनि विजुली पुर्याउँछौं अनि हिउँदा ३० युनिट र वर्षामा ५० युनिटसम्मको विद्युत निःशुल्क उपलव्ध गराउँछौं । त्यस्तै हरेक घरमा धारा पुर्याउँछौं र पानी पनि निःशुल्क उपलव्ध गराउँछौं ।’
आम्दानी बढाउने थुप्रै कार्यक्रम
प्रतिनिधिसभा सदस्य उम्मेदवार पोख्रेलले त्यसका लागि एमाले सरकार बन्न जरुरी रहेको बताउनुभयो । उहाँले एमालेले राज्य र जनताको आम्दानी बढाउन थुप्रै कार्यक्रम अघि सारेको बताउनुभयो । 
जनताको समृद्धि, सामाजिक सुरक्षा र आधारभूत आवश्यकता पूर्तिको काम राज्यले गर्ने भन्दै पोख्रेलले राष्ट्रिय प्राथमिकताका विषयलाई पनि महत्वकासाथ अघि सारेको उल्लेख गर्नुभयो । प्राथमिकताका पाँच क्षेत्रबारे बोल्दै महासचिव पोख्रेलले भन्नुभयो– राष्ट्रिय स्वाधिनताको रक्षा, सामाजिक न्यायमा आधारित लोक कल्याणकारी राज्य निर्माण, सुशासन र प्रविधियुक्त विकास तथा विद्युतीय शासन व्यवस्था र समाजवाद उन्मुख कार्यक्रमलगायत समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेको प्राथमिकताका विषय हुन् । 
एमाले सरकार ढलेपछि बनेको सरकारले झन् अव्यवस्था, बेथिति, भ्रष्टाचार र कुशासन मौलाएको भन्दै मंसिर ४ पछि जनादेशको सरकार बनाउनुपर्ने बताउनुभयो । 
फुच्चे बन्दै माओवादी 
यसैगरी महासचिव पोख्रेलले सोमबार बंगलाचुलीमा आयोजित कार्यक्रममा गठबन्धन सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको, विकासका काम ठप्प पारेको र देश विगार्ने काम मात्र गरेको वताउनुभयो । 
उहाँले देश बनाउनका लागि एमालेको सरकार बन्नु जरुरी छ भन्नुभयो । 
महासचिव पोख्रेलले  प्रतिनिधि सभामा ४२ सिटमा उम्मेदवारी दिएको माओवादी निर्वाचनपछि फुच्चे पार्टीमा दरिने र विस्तारै देशको राजनीतिबाट किनारा लाग्दैछ भन्नुभयो । 
माओवादी नेताहरूले हिजो जनतालाई देखाएका ठूला सपना एमालेले पूरा गर्ने बताउँदै भविष्य नभएको पार्टीमा नलाग्न र एमालेमा आउन महासचिव पोख्रेलले आग्रह गर्नुभयो । 
माओवादीले पहिले सशस्त्र द्वन्द्वबाट मुलुकलाई कमजोर बनायो, अहिले सरकारमा रहेर अर्थतन्त्र ध्वस्त पारेर कमजोर पारिरहेको उहाँको भनाई थियो । 
हिजो शेरबहादुर देउवालाई देखाएर सोधा सिधा जनतालाई बन्दुक बोकाएको माओवादी नेतृत्वले आज उनै शेरबहादुरलाई प्रधानमन्त्रीका रुपमा बोकिरहेको वताउँदै महासचिव पोख्रेलले भन्नुभयो– ‘प्रचण्ड र देउवा पहिले नै मिलेको भए १७ हजारको ज्यान जोगिन्थ्यो होला नि ! तिनका परिवारका सदस्य, आफन्तहरूले के भन्छन् होला ?’