detail-img

‘एमालेको घोषणापत्रमा देश विकासको सम्पूर्ण खाका छ’

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्रमा देश विकासको सम्पूर्ण खाका रहेको वताउँदै जनताले एमालेलाई सुदृढ सरकार गठन गरी कार्यान्वयन गर्ने अवसर दिने विश्वास व्यक्त गर्नुभएको छ ।  
झापाको निर्वाचन क्षेत्र नं. १ को धुलावारीमा आज आयोजित आमसभामा अध्यक्ष ओलीले उक्त विश्वास व्यक्त गर्नुभएको हो ।


उहाँले एमालेको घोषणापत्रका २० ग्यारेण्टीमा केवल २० वटा कुरा नभएर नेपालको विकासको सम्पूर्ण खाकाका साथै नेपाली जनताका सरोकारका सबै विषय समेटिएको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले त्यसमा नागरिकताको विषय उच्च प्राथमिकतामा राखिएको वताउँदै गठबन्धन सरकारले विदेशीलाई छिटो छिटो नागरिकता दिन चाहेकाले विधेयकमा विवाद सिर्जना भएको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो– एमालेको सरकार गठनपछि एकमहिनामा नागरिकता सम्बन्धी ऐन बनाइने छ र जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिइने छ, सबै नेपालीलाई नागरिकता दिइने छ । 
कतैबाट पनि राष्ट्रियतामा खतरा पार्ने काम हुन्छ भने त्यसवेला राष्ट्रपतिले राष्ट्रियताको पक्षमा अडान लिनुपर्छ भन्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिको अडानको प्रशंसा गर्नुभयो । 
उहाँले विदेशीलाई नागरिकता दिंदा हाम्रोजस्तो सानो देश बँच्दैन भन्नुभयो । 
अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार गठनका लागि झापा निर्वाचन क्षेत्र नं.१ बाट पनि एमाले उम्मेदवारलाई विजयी बनाई पठाउन मतदातालाई आग्रह गर्नुभयो । 
उहाँले आफूलाई संसदबाट हटाउन नसकेपछि अदालत गुहारी  परमादेश जारी गराएको स्पष्ट गर्दै अखडा(संसद) मा नसकेपछि बाटोमा हिड्दा पछाडिबाट हानेको वताउनुभयो ।  एमाले र माओवादीको एकता हुँदा आफूले दिएको बहुमत प्रचण्डले दुरुपयोग गर्नेहुँदा एकता भङ्ग भएको उहाँको भनाई थियो । 
अध्यक्ष ओलीले वर्तमान गठबन्धनका तीन सहयात्री नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीको कुनै जनमत नभएको उल्लेख गर्दै गठबन्धन शेरबहादुर देउवा र प्रचण्डको मितेरी साइनो मात्र भएको र त्यहाँ पनि बेइमानी र छलछाम रहेको वताउनुभयो । अध्यक्ष ओलीले अब मंसिर ४ गते नेपाली जनताले देशभक्त कि राष्ट्रघाती, विकास र समृद्धिको पक्षमा कि पश्चगमनको पक्षमा उभिने, निर्णय गर्ने महत्वपूर्ण दिन भएकाले सचेत भएर एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले आजै झापाको गौरीगञ्जमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभयो ।