detail-img

मुलुक अस्थिरतातर्फ धकेलिने खतराः अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताउनुभएको छ । 
झापा निर्वाचन क्षेत्र नं. ५ बाट  प्रतिनिधि सभामा विजयी हुनुभएका अध्यक्ष ओलीले आज निर्वाचित भएको प्रमाणपत्र लिनुभएपछि संक्षिप्त सम्बोधन गर्दै निर्वाचनको परिणाम सुखद् नभएको बताउनुभयो । 
उहाँले भन्नुभयो– ‘यस निर्वाचनबाट मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि त्यसो हुन सकेन ।’ 
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट कसैको बहुमत नआउने भएपछि त्यसको असर सरकार गठनमा पर्ने र देशलाई दुर्घटनातिर लैजाने खतरा बढ्ने अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले यस निर्वाचन परिणामले नयाँ सरकार गठन लगायतमा  सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने भन्दै चिन्ता प्रकट गर्नुभयो ।


अध्यक्ष ओलीले भन्नुभयो– ‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउँछ भन्ने आशा थियो । तर, त्यसो भएन । अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुश्किल हुने अवस्था छ । फेरि पनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो ।’
उहाँले अब बन्ने सरकारले फेरि पनि मुलुक र जनताको लागि काम गर्न नसक्ने वताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– ‘अब बन्ने सरकारले जनता र मुलुकको विकासको काम गर्न नसक्ने भयो । बहुमतको सरकार नबन्ने भएपछि दलहरु आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागबन्डामै लाग्दा ठीक्क हुन्छ ।’
अध्यक्ष ओलीले  राजनीति गम्भीर विषय भएकाले यसलाई  रमाइलोको रुपमा नलिन आग्रह गर्नुभयो ।  
उहाँले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाई  निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताउनुभयो । 
अध्यक्ष ओलीले धेरैजसो स्थानमा निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सफल निर्वाचन आयोग र सम्बन्धित सबैलाई धन्यवाद पनि दिनुभयो ।
निर्वाचनमा सरकार आफैँले कतिपय ठाउँमा बुथ क्याप्चर गरेको, चुनाव जित्न मान्छे मारेको उहाँको भनाई थियो । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं.५ मा आयोजित विजय र्यालीमा पनि सहभागी हुनुभयो । त्यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा अध्यक्ष ओली, प्रदेश सभामा स्थायी कमिटी सदस्य हिक्मत कार्की र होमबहादुर थापा विजयी हुनुभएको छ ।