detail-img

वर्तमान जनादेश मुलुकका लागि चुनौतीपूर्णः महासचिव पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको जनादेशले मुलुक थप जोखिममा परेको बताउनुभएको छ । 
दाङको घोराहीमा आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन नसकेको र यसले देशलाई थप अस्थिर बनाउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘जनादेशको सम्मान त छ नै, तर जुन परिस्थितिको जनादेश छ यसले मुलुकको लोकतान्त्रिक भविष्यका लागि अझ जोखिम र चुनौतीपूर्ण छ भन्ने कुरा स्पष्ट छ ।’
मुलुकलाई सही दिशामा लैजानका लागि आफू थप क्रियाशील भएर लाग्ने महासचिव पोखरेलले बताउनुभयो । 
‘जे भयो अब समीक्षाको विषय मात्र रह्यो । मैले हारे पनि राजकीय जिम्मेवारीबाट टाढा रहने मात्र हो,’ उहाँले भन्नुभयो, ‘अब मलाई पार्टीलाई थप सुदृढ गर्ने र मुलुकलाई सही दिशामा लैजानका लागि क्रियाशील हुने समय मिलेको छ ।’
महासचिव पोखरेलले देशमा राजनीतिक ध्रूवीकरणको उद्देश्य अहिलेको जनादेशले पूरा हुन नसकेको भन्दै नयाँ राजनीतिक शक्ति स्थापनाले नयाँ राजनीतिक चुनौती उत्पन्न भएको बताउनुभयो । उहाँले मुलुकको विकासका लागि धेरै राजनीतिक शक्ति नभएर बलियो राजनीतिक शक्ति आवश्यक हुने भनाई राख्नुभयो । जसका लागि पार्टी बलियो हुनुपर्ने र एमालेलाई थप बलियो राजनीतिक शक्ति बनाउने बताउनुभयो ।
फरक प्रसंगमा पोखरेलले आफूहरु सरकारमा भएको समयमा दाङलाई समृद्ध बनाउने गरी योजनाहरू पार्न सफल भएको भन्दै केही पूरा र केही अझै पूरा गर्न बाँकी रहेको बताउनुभमयो । बाँकी रहेका योजना निर्वाचित जनप्रतिनिधिले पूरा गरेमा आफूले हारेकोमा कुनै फरक नपर्ने उहाँको भनाई थियो ।
उहाँले दाङमा लुम्विनी प्रदेशको स्थायी राजधानी निर्माणको कमलाई निर्वाचित जनप्रतिनिधिले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 
यस्तै घोराही–तुल्सीपुर सडक निर्माण, सुविधा सम्पन्न एयरपोर्ट, औद्योगिक क्षेत्र निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल शिक्षा पढाई र दाङमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ईन्जिनियरिङ कलेज स्थापना हुनुपर्ने वताउनुभयो । 
महासचिव पोखरेल प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं.२ बाट झिनो मतले पराजित हुनुभएको थियो ।