detail-img

दमकको विकासका लागि एमालेलाई मतदान गर्नुपर्छ

दमक। झापाको दमक नगरपालिकामा नेकपा (एमाले) को बिजय सुनिश्चित देखिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत भएकाले यो क्षेत्रको निर्वाचन गतिविधिलाई सबैभन्दा बढी चासोको बिषय बनेको छ । यो नगरलाई नेकपा (एमाले) ले कुनै हालतमा आफ्नो विरासत गुम्न नदिने तयारीमा छ । त्यस्तै गठबन्धन समेत नगरमा नेतृत्व परिवर्तन गर्ने योजनाका साथ अघि बढेको छ ।

जतिजति निर्वाचनको मिति नजिकिँदै गयो त्यतित्यति दमक नगरभित्र नेकपा (एमाले) को पक्षमा माहोल बन्दै गएको नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताउनुभयो । नेकपा (एमाले) को तर्फबाट दमक नगरपालिकामा मेयर पदकी उम्मेद्वार गीता अधिकारी र उपमेयरका उम्मेदवार अम्बिका खनालसहितको टिम विजयी हुनेमा ढुक्क देखिएको छ । एमालेको दमकमा विजयी हुने पहिलो आधार दमक नगरभित्र भएको विकास निर्माण रहेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि दमक क्षेत्रका ठूला ठूला दीर्घकालीन समस्याको रूपमा रहेको नदी कटान नियन्त्रणको क्षेत्रमा सबैभन्दा बढी काम भएकाले स्थानीय मतदाता एमालेको पक्षमा रहेका छन, उहाँको भनाइ छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत रतुवा र मावाखोलामा रहेका दुईवटा पुल मात्र थिए । एमालेको सरकार रहेको अवस्थामा दमक नगरपालिका जोड्ने रतुवा र मावाखोलामा गरी थप पाँचवटा पक्की पुल निर्माण सम्पन्न भइसकेका छन् । यसले सर्वसाधारणलाई सहज भएको दमक नगरपालिका– ३ निवासी अम्बिका भण्डारीको भनाइ छ । उहाँकाअनुसार म मात्र होइन, मावाखोलामा तटबन्धन भएकाले यो गाउँबाट सबै मानिस नेकपा (एमाले) को पक्षमा रहेका छन । सबैले यो क्षेत्रको विकास भविष्यका लागि पनि हामी एक भएर नेकपा (एमाले) लाई नै मतदिने पक्षमा रहेका छौं, हाम्रो टोलमा सबैले एमालेलाई नै मतदान गर्छन् ।

त्यस्तै नेकपा (एमाले) को सरकार हुँदा दमक नगरमा आएका राष्ट्रिय गौरवका योजना चीन नेपाल मैत्री औद्योगिक पार्क, २५ तलाको दमकभ्यू टावर निर्माण, विश्वको अग्लो बुद्धमूर्ति निर्माण, दमक सभाहल, मदन भण्डारी अन्तर्राष्ट्रिय खेलमैदानलगायतका भौतिक पूर्वाधार निर्माणले समेत एमालेलाई विजयी बनाउन बलियो आधार तयार भएको छ । त्यससँगै नेकपा (एमाले) को तर्फबाट हालकी मेयर पदकी उम्मेदवार गीता अधिकारी यस अघि दमक नगरपालिकाको उपमेयर हुँदा सफलताका साथ सम्पन्न गरेको कार्य सम्पादन उहाँको विजयका लागि अर्को आधार हो ।

उहाँले उपमेयर हुँदा शिक्षा र न्याय सेवामा भएका सफल योजनाका काम जनमतको आफ्नो पक्षमा तान्ने अर्को आधार हो । यस बाहेक दमक नगरपालिकाको कार्यसम्पादन विवादरहित सन्तोषजनक रहेकाले पनिपुनः नेतृत्वमा पुग्ने विश्वासिलो आधार उहाँसँग छ । मेयर उम्मेदवार अधिकारीले २८ बर्षसम्म यहाँको दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुभएको छ । यस अवधिमा उहाँका विद्यार्थी नै अहिले धेरै राजनीतिक नेतृत्वर विभिन्न संघसंस्थामा रहेकाले विद्यार्थीले गुरुआमाप्रति गर्ने सद्भाव पनि आधार मानिएको छ ।

अर्थशास्त्रमा एमफिल पूरा गर्नु भएकी अधिकारीको शैक्षिक योग्यता समेत अन्य प्रतिस्पर्धीको भन्दाअब्बल रहेकाले पनि विजय सु–निश्चित देखिएको नेकपा (एमाले) का दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोखेल वताउनु हुन्छ । त्यस्तै उपमेयरका उम्मेदवार अम्बिका खनाल यही क्षेत्रमा बसेर पार्टी संगठनको इमान्दारपूर्वक काम गर्दै आएका एक जना कुशल नेतृत्व हुनुहुन्छ । दमक नगरपालिकामा यस अघि सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अध्यक्ष रहेर समेत धेरै सुकुम्बासी तथा अन्य अव्यवस्थित बसोबासीको काम गरिसक्नु भएको छ । नेकपा (एमाले) को दमक नगर समिति अध्यक्ष समेत भई हाल प्रदेश कमिटी सदस्य रहेका खनाल पार्टीका बलिया उम्मेदवार हुनुहुन्छ ।

पार्टीको बलियो सांगठनिक संरचना र नेकपा (एमाले) को पक्षमा रहेको जनमतका कारण नगरपालिकाका सबै वडा जित्ने नेकपा (एमाले) का झापा जिल्ला अध्यक्ष दीपक कार्कीको भनाइ छ । यता पाँचदलीय गठबन्धनको तर्फबाट नेकपा समाजवादी पार्टी बाहिरिएको र राप्रपालाई मेयर पद दिएकोप्रति गठबन्धनभित्र ठूलो असन्तुष्टि रहेको छ । उम्मेदवारीकै विषयमा लामो समयसम्म विवाद रहेको थियो । यसले गर्दा गठबन्धनको मत एकैठाउँमा पर्ने सम्भावना पनि देखिँदैन । एमाले नेतृत्वले अघि बढाएको काम र अध्यक्ष ओलीको गृहनगर भएकै कारण यहाँका मतदाता भनिरहेका छन, दमकको बिकासका लागि एमालेलाई मतदान गर्नुपर्छ । यो अभियान अहिले हरेक टोलका मतदाता आफैले चलाएका छन ।