detail-img

लेखा आयोगका सदस्य खत्रीको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय लेखा आयोगका सदस्य खम्ब खत्रीको निधन भएको छ । विगत १० महिनादेखि क्यान्सर रोगबाट पीडित खत्रीको यही मंसिर १८ गते निधन भएको हो  । 
आयोगले शोक वक्तव्य प्रकाशित गरी कमरेड खत्रीको असामयिक र दुखद् निधनबाट आयोग मर्माहत भएको जनाएको छ । आयोगले स्व.खत्रीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । 
आयोगका अध्यक्ष डा. पुष्प कँडेलद्वारा प्रकाशित शोक वक्तव्यमा भनिएको छ–कमरेड खम्ब खत्री पार्टीको एक निष्ठावान र जुझारु सिपाही हुनुहुन्थ्यो । कठिन परिस्थितिमा पनि पार्टीको पक्षमा खम्बाझैँ अटल भएर उभिनुभएको थियो । उहाँको निधनबाट पार्टीले एक असल कार्यकर्ता गुमाएको छ, आयोगले एक कर्मठ अगुवा गुमाएको छ भने परिवारले एक प्रिय अभिभावक गुमाएको छ । शोकको यस घडीमा धैर्यधारण गर्न पार्टी पङ्ती र परिवारजनमा अनुरोध गर्दछौं ।  स्व. खत्रीले २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै अनेरास्ववियुमा संगठित हुँदै तत्कालीन नेकपा (माले) मा आवद्ध हुनुभई पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने सिलसिलामा २०५१ सालमा पार्टीको मोरङ्ग काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष, २०५२ सालमा कोशी काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र २०६६ सालमा कोशी अञ्चल सम्पर्क कमिटीको अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएको थियो । २०७१ सालमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशबाट केन्द्रीय लेखा आयोगको सदस्यमा निर्वाचित हुनुभएको र दशौं राष्ट्रिय महाधिवेशनबाट आयोगको सदस्यमा पुनः निर्वाचित भई सचिवालय सदस्यको जिम्मेवारीमा रही पार्टी काम गर्दै आउनुभएको थियो ।