detail-img

‘राष्ट्रिय शक्ति निर्माणको चाहना बाह्य शक्तिका कारण सफल हुन सकेन’

पोखरा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नपाओस् भन्ने विदेशी शक्तिको चाहना यसपटकको निर्वाचनमा एकहदसम्म पूरा भएको वताउनुभएको छ । 
नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीद्वारा आज आयोजित बधाईं तथा धन्यवाद कार्यक्रममा महासचिव पोखरेलले उक्त विचार व्यक्त  गर्नुभएको हो । 
विश्व राजनीतिको उथलपुथलको प्रभाव नेपालको आम निर्वाचनमा परेको बताउँदै  उहाँले विदेशी शक्ति राष्ट्रिय पार्टीबाट शहरिया मध्यमवर्गलाई टाढा राख्न अहिलेको चुनावमार्फत सफल भएको विचार व्यक्त गर्नुभयो ।  
महासचिव पोखरेलले भन्नुभयो– यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा शहरिया मध्यम वर्गमा भएको छिटो छिटो परिवर्तन खोज्ने प्रवृत्तिलाई वैकल्पिक शक्तिका नाममा राष्ट्रिय पार्टीबाट अलग गराइयो ।
मधेशमा परम्परागत क्षेत्रीय शक्ति कमजोर हुँदा राष्ट्रिय पार्टीतर्फ आउने जनमतलाई मधेशकै नयाँ क्षेत्रीय पार्टीतर्फ नियोजित रूपमा ‘डाइभर्ट’ गर्ने काम भएको उहाँको भनाई थियो । एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउने चाहना यो निर्वाचनबाट पूरा नभएको बताउँदै महासचिव पोखरेलले हामीले क्रमशः दलको सङ्ख्या घटाउने भनेका थियौं तर राष्ट्रिय दलको सङ्ख्या बढ्न पुग्यो भन्नुभयो । 


महासचिव पोखरेलले भन्नुभयो– नेपालमा बलियो राष्ट्रिय शक्ति बन्न नदिने कुरा बाह्य स्वार्थसँग पनि जोडिएको छ । खासगरी दुई वटा प्रवृत्ति राष्ट्रिय शक्ति बलियो हुन नदिने प्रवृत्तिका रूपमा देखापरेका छन् । परम्परावादी शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अघि सार्ने प्रयास भयो । उसले धर्म राजनीतिको माध्यमबाट शहरिया मध्यम वर्गमा आफ्नो प्रभाव विस्तार गर्न कोशिश गर्न खोजेको देखिन्छ । अर्कातर्फ, शहरिया मध्यम वर्गमा भएको छिटो छिटो परिवर्तन खोज्ने प्रवृत्तिलाई वैकल्पिक शक्तिका नाममा राष्ट्रिय पार्टीबाट अलग गराइयो । मधेशमा परम्परागत क्षेत्रीय शक्ति कमजोर हुँदा राष्ट्रिय पार्टीतर्फ आउने जनमतलाई मधेशकै नयाँ क्षेत्रीय पार्टीतर्फ नियोजित रूपमा ‘डाइभर्ट गर्ने काम भयो । राष्ट्रिय पार्टीतर्फ ‘डाइभर्ट’ हुनुपर्ने शहरिया जनमतलाई पनि परम्परावादी र स्वच्छन्दवादी शक्तितर्फ लैजाने प्रयास भयो । त्यसैले गर्दा नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माणको ऐतिहासिक आवश्यकता पूरा भएन ।
‘मतदातालाई राष्ट्रिय पार्टीबाट अलग पार्ने प्रयास भयो, जहाँ राज्यको साधनस्रोत सबैभन्दा बढी लगानी भएको छ । राप्रपा र रास्वपाले बढी मत महानगर र उपमहानगरबाटै पाएका छन् । महानगर–उपमहानगरमै राज्यका साधनस्रोत अधिकतम गएका छन् । सामाजिक विकास र पूर्वाधार निर्माणका काम त्यहीँ भएका छन्, रोजगारीका अवसर पनि त्यहीँ छन् । तिनै ठाउँमा राष्ट्रिय पार्टी अलग हुन खोज्नुको अर्थ समन्यायिक विकासको पैरवी नै होइन । समन्यायिक विकासको पैरवी हुन्थ्यो भने त हामीलाई पुग्यो, ग्रामीण क्षेत्रको विकास गर भन्ने कुरा आउनुपर्थ्यो ।’
जहाँ आर्थिक–सामाजिक विकासका पूर्वाधार तयार भएका छन्, त्यही ठाउँमा रास्वपा र परम्परावादी शक्ति देखा परे । ती ठाउँमै मुलुकको समृद्धिलाई नेतृत्व गर्ने पार्टीलाई कमजोर पार्ने प्रयास भए । नेपाली जनताको सार्वभौमिकताको प्रतिनिधित्व गर्ने वास्तविक धरातल भनेको ग्रामीण क्षेत्रसहितको नेपाल हो । त्यसलाई बलियो हुन नदिने प्रवृत्तिका रूपमा जुन प्रकारको जनमत प्रकट भएको छ, त्यो राष्ट्रिय शक्ति बन्नका लागि अवरोध सिर्जना गर्ने प्रवृत्तिका रूपमा देखा परेको हो । 
बलियो राष्ट्रिय शक्ति बन्न नदिनेहरूले सामाजिक अराजकताको बढी उपयोग गरे । त्यसमा बाह्य तत्वको पनि एक हदसम्म भूमिका देखिने गर्छ ।  यो नेपाली राजनीतिको चुनौती हो । त्यसरी हेर्दा शहरिया मध्यम वर्गको प्रवृत्ति समाधानमुखी छैन, प्रतिक्रियात्मक छ । प्रतिक्रियात्मक मनोविज्ञान राष्ट्रको समस्या समाधानका लागि उचित होइन । अर्कातर्फ, गठबन्धन आफैंमा वैचारिक राजनीतिक हिसाबले अन्योलग्रस्त छ । त्यसले मुलुकलाई दिशानिर्देश गर्न सक्दैन भन्ने कुरा त स्पष्टै छ । उनीहरू चुनावमा जाँदा दुई तिहाइको अवस्थामा थिए, फर्किंंदा बहुमत पनि गुमाएको अवस्था छ । गठबन्धनलाई पनि ‘म्याडेन्ट’ प्राप्त भएन ।