detail-img

निर्वाचनबाट इतिहासकै अस्थिर अवस्था सिर्जनाः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई विकास अभियन्ताका रूपमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले आर्थिक काममा पारदर्शी र स्वच्छतालाई विशेष रुपमा ध्यान दिन आग्रह गर्नुभयो । 
पार्टी कार्यालय च्यासलमा आज आयोजित पार्टीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधिहरूको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरूलाई जनताका काममा नमूना र आदर्श जनप्रतिनिधिका रूपमा काम गर्न निर्देशन दिनुभयो । 
उहाँले विकास र समृद्धिका लागि एमालेले देशमा राजनीतिक स्थायित्व र स्थिरता चाहे पनि वर्तमान जनादेशले मुलुकमा इतिहासमै सबैभन्दा अस्थिर अवस्था सिर्जना गरेको वताउनुभयो ।

 
अध्यक्ष ओलीले निर्वाचनमा हामीले देश बनाउन स्पष्ट नीति, दृष्टिकोणका साथ एमालेलाई बहुमत मागेका थियौं तर बहुमत प्राप्त गर्ने गरी जनतालाई सचेत गराउन सकेनछौं भन्नुभयो । 
निर्वाचनमा जनमत डाइभर्ट भएको सन्दर्भमा अध्यक्ष ओलीले भ्रममा परेको असचेत जनता खतरनाक हुने वताउँदै जनतालाई सचेत बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको पनि स्थानीय नेतृत्व तहमा रहेका जनप्रतिनिधिलाई जनता र कार्यकर्ताको मनोबल उठाउने गरी काम गर्न निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– शालिनतापूर्वक जनताको सेवक भएर काम गर्नूस् । काम गर्दा सामुहिक तरिका अपनाउनूस् । पार्टीसँग निरन्तर समन्वयमा काम गर्नूस् । 
चौतर्फी घेराबन्दी र सत्ता गठबन्धनमा रहेका दलहरूबाट बुथ कब्जा गरी जनताको मताधिकार लुटिँदा पनि लोकप्रिय मत एमालेले प्राप्त गरेको र जनताले एमालेप्रति अत्यन्त स्नेह प्रकट गरेको उहाँको भनाई थियो । 
अध्यक्ष ओलीले देशको अर्थतन्त्र ओरालोतर्फ लागिरहेको समाज साँस्कृतिक रूपमा विश्रृंखलित हुँदै गएको उल्लेख गर्दै गठबन्धनमा रहेका दलहरूलाई यसप्रति कुनै चिन्ता नरहेको वताउनुभयो । उहाँले भन्नुभयो– यिनीहरुलाई प्रधानमन्त्री को बन्ने भन्ने मात्र चिन्ता छ ।
सो अवसरमा अध्यक्ष ओलीले काठमाडौंमा मङ्गलबार सम्पन्न अधिवेशनबाट गाउँपालिका महासंघमा निर्वाचित एमालेका जनप्रतिनिधिलाई खादा लगाई बधाई दिनुभएको थियो ।


कार्यक्रममा महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधिहरुलाई जनतासँगको सम्बन्ध घनिष्ट बनाई काम गर्न निर्देशन दिनुभयो । 
उहाँले स्थानीय निर्वाचनमा जारी गरिएको घोषणापत्रलाई मार्गदर्शनका रूपमा लिएर काम गर्न र यस अघि काठमाडौंमा भएको भेलाबाट जारी २० बुँदे काठमाडौं संकल्पलाई जीवनशैली बनाउन निर्देशन दिनुभयो । 
विगतमा जनप्रतिनिधिले स्थानीय तहमा गरेका विकास निर्माण र जनताका सरोकारका कामलाई पार्टीको विषय बनाउन नसक्नु कमजोरीका रूपमा रहेको वताउँदै महासचिव पोखरेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूलाई पार्टीको पनि प्रतिनिधि सम्झेर काम गर्नुपर्ने बताउनुभयो । 
महासचिव पोखरेलले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका जितेको ठाउँमा अहिले एमालेको भोट घटेको वताउँदै यसबाट जनताको अपेक्षा र त्यसको आपूर्तिमा खाडल छ, तालमेल भएन भन्ने बुझेर काम थाल्नुपर्ने धारणा राख्नुभयो । 
उहाँले बर्ग सङ्घर्ष गर्नुपर्ने मुख्य थलो संसदीय निर्वाचन भएको र चुनावका समयमा पार्टीविरूद्ध लाग्नेहरू पार्टीको कार्यकर्ता हुन नसक्ने वताउँदै पार्टीमा शुद्धिकरण आवश्यक रहेको छ भन्नुभयो ।


कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले गाउँपालिका महासंघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिनुभएको थियो ।