detail-img

‘एमालेबाहेकलाई देशको चिन्ता होइन, के पद खान पाइन्छ भन्ने चिन्ता छ’ 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई देशमा सिर्जना भएको राजनीतिक अस्थिरता, सामाजिक तथा साँस्कृतिक विचलन र भयावह आर्थिक अवस्थाका बारेमा चिन्ता रहेको वताउँदै सरकारमा जाने वा अरु दललाई समर्थन गर्ने हतारो नभएको स्पष्ट गर्नुभएको छ । अध्यक्ष ओलीले नेकपा (एमाले) सरकार गठनको दावी गर्न नसक्ने हैसियतको पार्टी होइन भन्दै तर, सरकार बनाउने मात्रै दौडमा एमाले छैन भन्नुभयो । 
उहाँले स्थिरता र स्थायित्व, देशको अवस्थामा सुधार,समाजलाई अनुशासनमा फर्काउने चाहना र राष्ट्रियताका सवालमा एमालेको धारणामा सहमत हुने दललाई समर्थन र सहकार्य हुनसक्ने वताउनुभयो । 
अध्यक्ष ओलीले सरकार गठनमा माओवादीलाई समर्थनको सम्भावनाका सन्दर्भलाई सङ्केत गर्दै भन्नुभयो– पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्णय गर्न ढिला गर्नुभयो ।  
अध्यक्ष ओलीले नेकपा (एमाले) बाहेकका दलहरुलाई देशको अवस्थाका बारेमा नभई सरकार गठनको कर्मकाण्डमा के पद खान पाउँछु भन्ने मात्रै चिन्ता रहेको वताउनुभयो ।  
सरकार गठनमा यस्तो अवस्था भई रह्यो, दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि नसोच्ने हो भने देश घुमिफिरी मध्यावधितिर पनि जानसक्ने भनाई अध्यक्ष ओलीको छ । 
नेकपा (एमाले) प्युठान–काठमाडौं सम्पर्क मञ्चद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यलाई बधाई तथा सम्मानका लागि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार गठनसम्बन्धी पार्टीको धारणा बताउनुभएको हो ।


अध्यक्ष ओलीले नेकपा (एमाले) लाई सिध्याउन साढे दुईबर्ष अघिदेखि शुरु भएको षडयन्त्र र घेराबन्दीलाई मंसिर ४ कोे निर्वाचनमा आइपुग्दा पराजित गरेको वताउनुभयो । उहाँले भन्नुभयो– नेकपा (एमाले) लाई निर्वाचनबाट सर्वाधिक लोकप्रिय पार्टीका रुपमा स्थापित गरेका छौं, आगामी दिनमा ठूलो सफलताको तयारीमा जुट्ने छौं । 
अध्यक्ष ओलीले यस निर्वाचनमा नेपाली काँग्रेस लगायत सत्ता गठबन्धनमा रहेका दलहरुले बुथ क्याप्चर, हत्या, हिंसा लगायत चरम अनियमितता गरेर सिटको हिसावले काँग्रेसलाई पहिलो र एमालेलाई दोस्रो घोषणा गराउन सफल भएको वताउनुभयो ।
उहाँले बहुतै प्रतिकूल परिस्थितिमा पनि प्युठानमा अरुको विचारमा हिड्ने लगायत प्रतिगामी तत्वहरुलाई एकमुष्ट पराजित गरी देशभक्त शक्तिलाई अत्यधिक मतका साथ विजयी बनाउने प्युठानी मतदाता र पार्टीका कार्यकर्तालाई धन्यवाद दिनुभयो । 
कार्यक्रममा अध्यक्ष ओलीले प्युठानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पार्टीका पोलिटव्यूरो सदस्य सूर्य थापा र लुम्बिनी प्रदेश सभामा निर्वाचित तुल्सीराम शर्मालाई बधाई दिँदै सम्मानपत्र प्रदान गर्नुभयोे ।  
उहाँले नवनिर्वाचित सांसदहरुले देश र जनताको पक्षमा, भ्रष्टाचारका विरूद्धमा, विकास र सुशासन पक्षमा काम गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले एमालेविरुद्धको षडयन्त्रका कारण अहिलेसम्मको समय पार्टीका लागि सङ्क्रमणकालीन समय भएको र अब हामी हाम्रो संगठन, कमिटीहरुलाई चुस्त वनाई हाम्रा नीति, कार्यक्रम र हाम्रो गन्तव्यका विषयहरुलाई जनतामा पुर्याउने काम गर्ने छौं भन्नुभयो ।