detail-img

‘नेपाललाई अस्थिरताको भूमिका रूपमा प्रयोग गर्न खोजिएको छ’ 


सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली सचेत तप्कालाई दिशाहीन बनाउने योजना नेपाली राजनीतिभित्र प्रयोगमा आएको वताउनुभएको छ । 
महासचिव पोखरेलले यही प्रयोगका रूपमा राज्यको ठूलो साधन स्रोत लगानी भएका प्रमुख शहरी क्षेत्रका बासिन्दालाई देशका प्रमुख राजनीतिक दलहरूमाथि अविश्वासको स्थिति उत्पन्न गराई कमजोर बनाउने षडयन्त्र गत मंसिर ४ को निर्वाचनमा सफल भएको वताउनुभयो । 
सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको साधारण सभालाई २०७९ पुस ८ गते सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त विश्लेषण सुनाउनुभएको हो । 
विश्व राजनीतिको प्रभाव नेपालमा परेको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– विश्व अर्थ व्यवस्था एसियातर्फ सिफ्ट हुँदैछ, स्वाभाविक रूपमा यो युरोप र अमेरिकाका लागि टाउको दुखाईको विषय बनेको छ । एसियालाई अर्थ व्यवस्थाको केन्द्र बन्न नदिने, विश्व राजनीतिको केन्द्र बन्न नदिने उद्देश्यका साथ खासगरी चीन र भारतलाई मिल्न नदिने उद्देश्यका साथ नेपाललाई अस्थिरताको भूमिका रूपमा प्रयोग गर्न खोजिएको छ र त्यसको शिकार नेपालको राजनीति भइरहेको छ ।  
महासचिव पोखरेलले विश्व राजनीतिको बाछिटा हाम्रो राजनीतिमा परेको छ भन्ने नबुझी र विश्लेषण नै नगरी समस्याको सम्पूर्ण दोषको भारी राजनीतिक दल र तिनका नेताहरूमा बोकाउनु गलत भएको वताउनुभयो । 
उहाँले नेपाली समाज सङ्कट, चुनौतीउन्मुख रहेको वताउँदै चुनौतीलाई सामना गर्ने कर्तव्य नेपाली समाजकै हो भन्नुभयो । ‘विगतमा लोकतन्त्रका लागि मिलेर लडेजस्तै वर्तमान चुनौतीको सामना गर्न पनि फेरि एकपटक मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ’ महासचिवले भन्नुभयो । 
मुलुकका चुनौतीको सामना गर्ने सवालमा आमसञ्चार क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने वताउँदै महासचिव पोखरेलले तीनवटा विकल्प प्रस्तुत गर्नुभयो । 
उहाँले भन्नुभयो– मुलुकमा उत्पन्न चुनौतीको सामनाका लागि पहिलो विकल्प प्रमुख दलहरू मिलेर अगाडि बढ्ने हो । दोस्रो विकल्प, नीतिका आधारमा देशको नेतृत्व गर्न आफूलाई तयार गर्ने । त्यसका लागि स्वाभाविक रूपमा राज्यको भूमिका प्रभावकारी हुन्छ भन्ने मान्यता राख्ने बामपन्थीहरू एकातिर उभिने र उदार अर्थ व्यवस्थाका पक्षधर अर्कातिर उभिएर नीतिका आधारमा वहस गर्ने र मुलुकको नेतृत्वका लागि अग्रसर हुने । तेस्रो विकल्प नयाँ शक्तिलाई काम गर्ने अवसर दिने ।
महासचिव पोखरेलले नीतिविहीन, लक्ष्यविहीन गठबन्धनबाट मुलुकका समस्या समाधान हुन सक्दैन भन्नुभयो । उहाँले भन्नुभयो– भर्खर सम्पन्न निर्वाचनबाट सत्ता गठबन्धनले जनादेश गुमाएको छ र प्रतिपक्षले पनि जनादेश प्राप्त गर्न सकेको छैन । यस्तो अवस्थामा मुलुकलाई विश्वासको राजनीतिमा अगाडि बढाउने हो  भने सत्ता गठबन्धन जनादेश गुमाएपछि पनि त्यही बाटो हिड्ने कि नयाँ तरिकाबाट अगाडि बढ्ने सोच्नु जरुरी छ भन्ने मलाई लाग्छ । 
‘विगतमा के भयो समीक्षा गर्दा धेरै कमजोरीका पाटा देखिनसक्छन् तर अब के गर्ने भन्ने सम्बन्धमा घोत्लिने हो भने नेपालको भविष्यका बारेमा चिन्ता गर्ने दलहरूका सोच समान हुनसक्छन्’ चर्चा गर्दै महासचिव पोखरेलले इतिहासबाट शिक्षा लिएर नेपालको भविष्य कस्तो बनाउने, लोकतन्त्र कस्तो बनाउने, नेपाली समाज कस्तो बनाउने भन्ने विषयमा साझा दृष्टिकोण बनाउन सकिन्छ भन्नुभयो । 
विगतमा संसदले पूर्ण कार्यकाल विताउनुपर्छ भन्ने मान्यतामा उभिँदा लोकतन्त्रमा मूल्यको कुरा ठूलो हो भन्नेतर्फ हेक्का नगरिएको उहाँको भनाई थियो । 
महासचिव पोखरेले विगतमा आमसञ्चार माध्यमले को सरकारमा छ भन्ने मान्यताका आधारमा एउटै विषयवस्तुमा फरक फरक दृष्टिकोणका आधारमा सामग्री प्रस्तुत गर्ने गरेको वताउँदै आमसञ्चार माध्यमले आफूलाई राज्यको चौथो अङ्गका रूपमा स्थापित गर्न को सरकारमा छ भनेर होइन, के ठीक के बेठीक भन्ने आधारमा बोल्नुपर्ने धारणा राख्नुभयो ।