detail-img

प्रधानमन्त्री तथा मन्त्रीहरूद्वारा शपथ ग्रहण 

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 
राष्ट्रपति कार्यालय शीतल निवासमा २०७९ पुस ११ गते सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित नवगठित आठ सदस्यीय मन्त्रिपरिषद्का सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो । 
नेकपा (एमाले) को अग्रसरता, एमाले लगायत विभिन्न सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।  
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुखहरू, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अन्य पूर्वप्रधानमन्त्रीहरू, सांसदहरू लगायतको सहभागिता रहेको थियो ।


एमालेबाट उपप्रधानमन्त्रीसहित चारमन्त्री
यस अघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डको सिफारिशमा आजै तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गर्नुभएको थियो । 
नव नियुक्त मन्त्रीहरूमा नेकपा (एमाले) बाट चारजना, माओवादी केन्द्रबाट एकजना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकजना र जनमत पार्टीबाट एकजना हुनुहुन्छ । प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेकपा (एमाले) बाट मन्त्री नियुक्त हुनेहरूमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पोलिटव्यूरो सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्य  राजेन्द्रकुमार राई  र दामोदर भण्डारी हुनुहुन्छ । उपाध्यक्ष पौडेललाई उपप्रधानमन्त्री तथा  अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ भने अन्य मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छैन । 
यसैगरी माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । जनमत पार्टीबाट अब्दुल खान मन्त्री नियुक्त हुनुभएको छ । उहाँलाई पनि जिम्मेवारी तोकिएको छैन ।