detail-img

अध्यक्षद्वारा मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन  आह्वान 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई  अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्न अग्रसर रहेको वताउनुभएको छ । 
अध्यक्ष ओलीले नयाँ बर्ष सन् २०२३ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा केही बर्षयता विथोलिएको मुलुकको राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई नयाँबर्षको आरम्भसँगै पुनः अगाडि बढाउने सही राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अगाडि बढिरहेको उल्लेख गर्नुभएको छ । 
अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ– नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहन्छ । लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनुदित गर्न चाहन्छ । हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र दू्रतगतिमा अगाडि बढाउन चाहन्छौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थीर राजनीतिक दल अपरिहार्य छ । त्यसका लागि आ– आफ्नो ठाउँबाट योगदान गर्न नयाँबर्षको यस विहानीमा म सबै राजनीतिक दल र पक्षसँग आग्रह गर्दछु । व्यक्ति र समूहहरूका निजी दुराकाङ्क्षाले सिर्जना गर्न सक्ने अवरोधहरूलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आह्वान गर्दछु । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने यस बाटोमा सम्पूर्ण पेशा, क्षेत्र, बर्ग र समुदायका दिदीबहिनी दाजुभाइहरूको साथ रहने छ भन्ने मैले अपेक्षा गरेको छु । 
अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय नयाँ बर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशको पूर्ण पाठ यस प्रकार छः