detail-img

स्थायी कमिटी सदस्य कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त 

विराटनगर । नेकपा (एमाले) स्थायी कमिटी सदस्य हिक्मत कुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले आज प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
नेता कार्कीले नेकपा (एमाले) सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदहरूको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो । प्रदेश १ मा नेकपा (एमाले) का ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद रहेकाछन् ।
नवनियुक्त मुख्यमन्त्री कार्की झापा निर्वाचन क्षेत्र नं. ५(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको होे । २०७४ सालको निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित भई मुख्यमन्त्री शेरधन राईको मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्थ्यो ।  
झापाको गौरादह नगरपालिका–३ का स्थायी बासिन्दा कार्की  विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष बन्नुभएको थियो ।  उहाँ २०७१ सालमा सम्पन्न नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो भने  २०७८ साल मंसिरमा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भई स्थायी कमिटी सदस्य चयन हुनुभएको हो । कार्की नेकपा (एमाले) प्रदेश १ को सहइन्चार्ज हुनुहुन्छ ।