ललितपुर । आज असार १५ गते राष्ट्रिय धान दिवस । यस अवसरमा आज देशभर रोपाईं विशेष कार्यक्रमहरू आयोजना गरिएको छ ।
नेकपा (एमाले) का जनसंगठन अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालले उपत्यकाका ललितपुर र भक्तपुरमा विशेष रोपाईं कार्यक्रम आयोजना गरे ।
अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरूटारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरेको छ भने ललितपुरमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको रोपाईं विशेष कार्यक्रमको प्रमुख आतिथ्यता महासचिव शंकर पोखरेलले गर्नुभयो ।
ललितपुरको फर्सीडोल, बुङमतीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव शंकर पोखरेलले कृषि र पर्यटनलाई जोडेर नेपालको अर्थतन्त्रलाई माथि उठाउन सक्ने बलियो आधार रहेको बताउनु भयो ।
‘कृषि र पर्यटनलाई जोड्ने हो भने नेपालको भविष्यको सम्भावना छ,’ पोखरेलले भन्नुभयो, ‘नेपालको कृषिलाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने विन्दुमा पुर्याउने मात्रै होइन निर्यात गर्न सक्ने क्षेत्रका रूपमा पनि विकास गर्न सकिन्छ ।’
उहाँले अहिले पनि नेपालले कृषि पैदावार समेत आयात गर्नुपर्ने अवस्था रहेको स्मरण गराउनुभयो ।
‘अब त्यसलाई बदल्न जरुरी छ । त्यसका लागि यन्त्र उपकरण र आधुनिक बीउ–बिजनको माध्ययमबाट खेती प्रणाली अगाडि बढाउन र कृषिका माध्यमबाट उत्पादकत्व बढाउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘स्वस्थकर खाना कहाँ पाइन्छ ? भन्दा नेपालमा भन्ने विकास गर्न सकियो भने हाम्रो पर्यटन उद्योग पनि फस्टाएर जान्छ भन्ने मान्यताका आधारमा अब नेपालका युवा कृषिमा फर्किनुपर्छ र राष्ट्र निर्माणको आधारका रूपमा अगाडि बढाउनुपर्छ ।’
पोखरेलले असार १५ लाई नेपाल सरकारले नेपालमा धान खेतीलाई प्रवद्र्धन गर्ने दिवसका रूपमा मनाउने गरेको भन्दै नेपालको सँस्कृतिलाई हेर्ने हो भने पनि असार १५ एउटा विशेष पर्व अर्थात् मानो रोपेर मुरी उब्जाउने पर्वका रूपमा नेपाली समुदायमा प्रचलित रहेको बताउनुभयो ।
‘यो पर्वलाई हामीले कृषिको आधुनिकीकरण र व्यवसायीकरणसँगै राष्ट्रिय सङ्कल्पसँग जोडेर कृषिका माध्ययमबाट नेपाली समाजको रूपान्तरण गर्ने योजनातर्फ अगाडि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कृषिमा रहेको परम्परागत तरिकालाई क्रमशः आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ ।’
उहाँले पछिल्लो समय प्रकृतिसँग बदलाव आइरहेको भन्दै त्यससँग जुध्न प्रकृतिमैत्री उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
‘त्यसमा पनि जैविक उत्पादनमा हामीले जोड दिनुपर्ने अवस्था छ,’ पोखरेलले भन्नुभयो, ‘अहिले नेपालको ठूलो युवा जनशक्ति विदेश पलायन भएको छ । त्यो जनशक्तिलाई मुलुकभित्र नै राख्न सक्ने सामथ्र्य छ भने त्यो भनेको कृषि नै हो । त्यसैले हामीले युवालाई कृषिमा आत्मनिर्भर बनाई स्वदेशमै फिर्ता ल्याउने कुरामा बढी ध्यान केन्द्रित गर्न आवश्यक छ ।’
उहाँले अहिलेको युवा कृषि प्रणालीबाट अलग भैरहेको अवस्थाबाट गुज्रिरहेको भन्दै फेरि युवालाई कृषि प्रणालीतर्फ फर्काउने कुरामा भूमिका खेल्न जरुरी रहेको बताउनुभयो ।
‘कृषिलाई हामीले आधुनिक तरिकाबाट अगाडि बढाउन खोज्यौँ र कृषिमा प्रविधिको प्रयोग गर्न सक्यौँ भने जति युवा विदेश जानु भएको छ, ती सबै युवालाई कृषिबाटै रोजगारी दिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यो पर्व यही सङ्कल्पका साथ अगाडि बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’