२८ फागुन ( २०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सङ्घीयता र संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने कानुनहरू वर्तमान सरकारले बनाएर अघि बढ्ने बताउनुभएको छ ।
शिक्षकहरूको माग सम्बोधनको लागि दबाब दिन नेपाल शिक्षक महासङ्घले नेकपा (एमाले) केन्द्रीय कार्यालयमा बुधबार आयोजना गरेको धर्नामा सहभागी शिक्षकहरूलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यसकै लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताउनुभयो । यसलाई तदारुकता साथ अघि बढाउने गरी सरकार लागेको उहाँले प्रष्ट पार्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– राज्यले शिक्षकहरूका मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मसात गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाए हुन्थ्यो भनेर हामी आफैँ लागिरहेका छौँ ।
ऐनमा समेट्ने विषयमा एकमत बनाउनका लागि सबैको प्रयास आवश्यक पर्ने उहाँले बताउनुभयो । कुन कुन विषयमा कसरी जाने भन्ने विषयमा मतैक्यता बनाउने कुरा धर्ना भन्दा महत्वपूर्ण हुने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । ‘तपाईंहरूको साथमा हामी छौँ, चिन्ता गर्नुपर्ने स्थिति छैन’, उहाँले भन्नुभयो ।
शिक्षकहरूको नेतृत्वमा बस्ने नेताहरूले आफ्ना विद्यालय राम्रो बनाउन लाग्नुपर्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो–नेताहरूले जिम्मा लिएका विद्यालय राम्रा बनाउनु पर्छ, यसबाट अरूले पनि पाठ सिक्छन् ।
नेपालमा राजनीति दलले शिक्षामा समस्या ल्याए भन्ने गलत कुरा भइरहेको बताउँदै उहाँले अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरा बिर्सन नहुने बताउनुभयो ।
महासचिव पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा परिवर्तन गराउनुपर्ने पनि बताउनुभयो । नेपालको शिक्षाले अब सीपयुक्त र व्यावहारिक जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राख्दै उहाँले शिक्षाले नागरिक कर्तव्य सहितको जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।