१० पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने परिस्थिति बने एमालेले निर्वाचनमा भाग लिएर बहुमत ल्याउने बताउनुभएको छ ।
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरूलाई सम्मान र प्रमाणपत्र वितरण गर्न आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) शान्तिपूर्ण वातावरणमा निष्पक्ष निर्वाचन पर्खिरहेको स्पष्ट गर्नुभयो ।
‘अहिले निर्वाचनको वातावरण बनाउने भन्दा पनि त्रास खडा गर्ने, नेताहरूलाई स्थानहद तोक्ने जस्ता गतिविधि भइरहेकाले निर्वाचनको सम्भावना नै देखिँदैन’, अध्यक्ष ओलीले भन्नुभयो– सरकार निर्वाचन गराउने होइन, कन्फ्रन्टेशनको मनस्थितिमा देखिन्छ । तसर्थ हामी जस्तोसुकै परिस्थितिको सामना गर्नका लागि तयार हुनुपर्छ ।
निर्वाचनको वातावरण बनाउने सम्बन्धमा राष्ट्रपतिको पहलमा आफूसहित प्रमुख दलका शीर्ष नेताहरू र प्रधानमन्त्रीबीच भएको परामर्शको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले राष्ट्रपतिसँगको छलफलपछि पनि परिस्थितिमा परिवर्तन आएको छैन भन्नुभयो ।
‘अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन । वातावरण बनाउने सरकारले हो । हामीले वातावरण बिगारेका छैनौँ । हामीले मान्छे काट्छौँ, मार्छौं भनेका छैनौँ । त्यत्रो असुरक्षा हुँदा पनि हाम्रो सुरक्षा खोसिएको छ । कहिले जेनजीका नाममा मान्छे उचालेर हमलाको प्रयास गरिएको छ’, अध्यक्ष ओलीले भन्नुभयो– देशलाई पछाडि फर्काउने पक्षहरूबाट सचेत भएर युवाहरू लाग्नुपर्छ । राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो । यी अभिभाराहरू हाम्रो काँधमा रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूहरू चुनावको विरोधमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने आफूले स्पष्ट गरेको बताउँदै उहाँले प्रतिनिधिसभाको पुनःस्थापना छिटो हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले गत भदौ २३ र २४ गतेको घटनामा स्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजिनु कानुनसम्मत नभएको स्पष्ट गर्नुभयो ।
जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उहाँले भन्नुभयो– स्थलमा खटिएका प्रहरी र कमाण्डरलाई त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको भएकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत छ ।
अध्यक्ष ओलीले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा स्वयंसेवकहरूको असाधारण भूमिका र योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो । अहिले कतिपय चर्चामा रहेका मानिस नसामा भेटिने गरेको भन्दै उहाँले युवाहरू दुर्व्यसन, गलत सङ्गत सोच तथा व्यक्तिगत स्वार्थका पछाडि लाग्न नहुने बताउनुभयो ।
११औं राष्ट्रिय महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक तथा नवनिर्वाचित पार्टीका सचिव भानुभक्त ढकालको अध्यक्षतामा भएको कार्यक्रम समितिका सचिव विनोद पाण्डेले सञ्चालन गर्नुभएको थियो ।