detail-img

काँग्रेसले गरेको समर्थनमा स्वार्थ छैन भने स्वागतयोग्य छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा  (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै अन्य दलहरूलाई समेत त्यसको पक्षमा उभिन आग्रह गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले) संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो– म प्रस्तावको स्वागत र समर्थन गर्छु, राजनीतिमा मौका अनुसारको व्याख्या गरिनुहुँदैन, प्रधानमन्त्री दाहाललाई अहिले विरोध गर्नुपर्ने ठाउँ नै छैन ।’
उहाँले प्रतिपक्षमा रहेर पनि सरकारलाई विश्वासको मत दिएर नेपाली काँग्रेसले विश्वकै लोकतान्त्रिक अभ्यासमा नयाँ भाष्य स्थापित गरेको वताउनुभयो । 
अध्यक्ष ओलीले नेपाली काँग्रेसले सहकार्यको प्रस्तावसहित वर्तमान सरकारलाई समर्थन गर्नु सुखद पक्ष हो भन्नुहुँदै काँग्रेसले गरेको समर्थनमा कुनै स्वार्थ रहेको खण्डमा त्यो निरर्थक साबित हुने बताउनुभयो । 
अध्यक्ष ओलीले नेपाली काँग्रेसले विश्वासको मत दिने  बहानामा षड्यन्त्रको जाल फालेको भए सफल नहुने बताउनुभएको छ । 
अध्यक्ष ओलीले भन्नुभयो, ‘यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु, माछा नभएको खोलामा फालेजस्तै हुन्छ ।  अध्यक्ष ओलीले संसद् विघटन भएसँगै सधैँभरि असंवैधानिक परिस्थिति उत्पन्न हुन्छ भन्ने सोचबाट तर्सन हुन्न भन्दै उहाँले विश्वका लोकतान्त्रिक मुलुकमा समेत यस्तो अभ्यास बेला बखत हुँदै आएको स्पष्ट गर्नुुभयो । 
अध्यक्ष ओलीले काँग्रेस सभापति देउवालाई संसद् विघटनको आफ्नो इतिहास हेर्न सुझाउनुभयो । 
उहाँले भन्नुभयो– २०१७ सालमा मैले संसद् विघटन गरेको हो ? २०५१ मा मैले विघटन गरेको हो ? माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ? यहाँले होइन पटकपटक संसद् विघटन गरेको ?

उहाँले सरकारद्वारा जारी गरिएको साझा न्यूनतम कार्यक्रम स्वागतयोग्य रहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– त्यो स्पष्ट प्रतिबद्धता छ, रुग्ण उद्योगलाई ब्युताउनेसहित देशलाई औद्यौगिकीकरण र आधुनिकीकरणमा लैजानुपर्छ यो कार्यान्वयन गर्ने विषय पनि उत्तिकै चुनौती छ । 
पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो– इतिहास दोहोर्याउने नभई नयाँ रच्ने भएकाले प्रधानमन्त्रीको प्रतिबद्धता आशलाग्दो छ, असहमति जनाइरहनुपर्ने आवश्यकता छैन । 
सरकारले अघि सारेका नीति तथा कार्यक्रममा झन्डै ५० लाख निरपेक्ष गरिबीको रेखामुनि रहेका जनता र लाखौँको सङ्ख्यामा विदेशमा रहेका युवा लक्षित रहेको बताउँदै उहाँले भन्नुभयो–युवालाई देशभित्रै राख्ने कुरा सजिलो छैन, रोजगारीका आकर्षक अवसरहरू सिर्जना गर्नुपर्छ ।
अध्यक्ष ओलीले अब संसदमा विपक्षी नरहेको भन्दै सरकारका गलत कामको विरोध त सरकारमै सहभागी दलका सांसदहरूले पनि गर्ने बताउनुभयो  ।